काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी का अध्यक्ष राजेन्द्र लिङ्देन ले मतदातालाई आफ्नो भोटको मूल्य र शक्ति बुझेर गम्भीरतापूर्वक निर्णय गर्न आग्रह गरेका छन्।
बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भोटलाई नागरिकको अधिकार मात्र नभई शक्ति हस्तान्तरणको माध्यम भएको बताए। मतदानअघि कसलाई आफ्नो शक्ति सुम्पिँदैछौँ भन्ने कुरा गहिरो रूपमा विचार गर्नुपर्ने उनको भनाइ थियो।
लिङ्देनले विगतमा मतदाताहरू झुटा आश्वासन, सामान्य आर्थिक प्रलोभन वा खानपानका लोभमा परेर मतदान गर्दै आएको टिप्पणी गरे। यस्तो प्रवृत्तिले देशलाई सही दिशामा लैजान नसकेको उनको तर्क थियो।
देश अहिले विशेष अवस्थामा रहेको उल्लेख गर्दै उनले सत्तारूढ दलहरूले नयाँ समझदारी नगरे र विगतका गल्ती सच्याएनन् भने मुलुक संकटतर्फ जान सक्ने चेतावनी दिए। राजा, राजनीतिक दल र युवा पुस्ताबीच नयाँ सहमति आवश्यक रहेको उनको धारणा थियो।
निषेधको राजनीति अन्त्य गरी सबै मिलेर देश निर्माणमा लाग्नुपर्नेमा जोड दिँदै उनले राप्रपालाई संसदमा बलियो शक्तिका रूपमा स्थापित गर्न मतदातासँग समर्थन मागे। स्पष्ट योजना र इमानदार नेतृत्वका साथ अघि बढे पाँच–छ वर्षमै देशको मुहार फेरिन सक्ने उनले दाबी गरे।
आफ्नो राजनीतिक जीवनमा भ्रष्टाचार नगरेको दाबी गर्दै उनले विभिन्न अनियमितताका विषयमा आवाज उठाउँदै आएको स्मरण गराए।
लिङ्देनले अन्य दलका समर्थकहरूलाई समेत एकपटक राप्रपाको चुनाव चिह्न ‘हलो’ मा मतदान गर्न आग्रह गरे। प्रत्यक्ष र समानुपातिक दुवै तर्फ राप्रपालाई मत दिई देश निर्माणको अभियानमा सहभागी हुन उनले सबैसँग अपिल गरे।
प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया