काठमाडौं। निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जबराको परिवार ठगीमा परेका छन् ।
राम्रो जग्गा सस्तो दाममा पाइने लोभमा पर्दा आयुक्तकी श्रीमती सीमा राणा ठगिएकी हुन् ।आयुक्त जवराकी श्रीमती सीमा राणालाई सस्तोमा जग्गा मिलाइदिने प्रलोभन देखाई १८ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा सिन्धुली निवासी ४० वर्षीय मधु कार्कीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।
अभियोग पत्रका अनुसार, प्रतिवादी मधु कार्कीले सीमा राणाका श्रीमान् (निर्वाचन आयुक्त) विदेश गएको मौका छोपी आफूलाई ‘दिदी’ नाता लगाएर विश्वासमा पारेका थिए । कार्कीले ‘एक ठाउँमा निकै राम्रो र सस्तो जग्गा छ, तुरुन्त बैना नगरे अरूले लैजान्छन्’ भन्दै प्रलोभन देखाएका थिए ।
कार्कीको कुरामा विश्वास गरी सीमा राणाले जग्गाको बैनाबापत पटक-पटक गरी जम्मा २५ लाख रुपैयाँ र आफ्नो नागरिकताको प्रतिलिपि समेत बुझाएकी थिइन् । तर, रकम बुझेपछि कार्कीले न जग्गा पास गरिदिए, न त बैना कागज नै उपलब्ध गराए ।
ठगिएको आशङ्का भएपछि राणाले आफ्नो रकम फिर्ता माग्दा कार्कीले ६ लाख ५० हजार रुपैयाँ मात्र फिर्ता दिएका थिए । बाँकी रहेको १८ लाख ५० हजार रुपैयाँ फिर्ता नगरी उनी लामो समयदेखि सम्पर्कविहीन भएका थिए । यस प्रकरणमा निर्वाचन आयुक्तका सवारी चालक बलराम भुजेल र स्वकीय सचिव समीर भट्टराईले समेत साक्षीका रूपमा बयान दिएका छन् ।
उनीहरूका अनुसार प्रतिवादी कार्कीले ‘दिदी’ नाता लगाएर घनिष्ठता बढाउँदै विश्वासघात गरेका हुन् ।
प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया