काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब देशमा निर्धारित समयमै निर्वाचन अवश्य सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्। उनले चुनाव स्थगित गर्न विभिन्न पक्षबाट प्रयास भइरहे पनि एमाले त्यसमा अलमल नहुने गरी जितको तयारीमा लागेको बताए।
झापामा आयोजित चुनावी सभा र सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष ओलीले राज्य र उम्मेदवारको ठूलो धनराशी खर्च भइसकेकोले अब चुनाव स्थगित हुनु न्यायोचित नहुने उल्लेख गरे। ‘हामी अब चुनाव हुनुपर्ने पक्षमै छौँ। चाहिँ स्थगित हुने प्रयास भइरहेको छ भने पनि हामी नअलमलिकन चुनावको तयारीमा लागिसकेका छौँ। जित्नैपर्छ, त्यसको तयारीमा छौँ,’ ओलीले भने।
उनले विगत ६ महिनासम्म निर्वाचन तयारीका लागि पहल गर्दा कसैले ध्यान नदिएको भए पनि अब अन्तिम समयमा चुनाव नहुने भ्रम फैलाउनु गलत भएको बताए। ‘६ महिना हामीले प्रयास गर्यौँ, तर कसैले चासो दिएन। अब समय पुगेको छ, देशले अर्बौं खर्च भइसकेको छ, उम्मेदवारले पनि खर्च भइसकेको छ, यस्तो अवस्थामा ‘अब चुनाव हुँदैन’ भन्नु असंगत हो,’ ओलीले स्पष्ट पारे।
त्यसैगरी उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि कटाक्ष गर्दै भने, ‘साना झगडा र आधारबिहीन गतिविधिबाट सानो भाँडोमा दुध उमालेर बेसरी आगो बाल्ने जस्तो स्थिति सिर्जना भएको छ। चुनाव नजित्ने अनुमान गर्दै उनीहरूले झण्डा जलाउने, अपमान गर्ने, वातावरण बिगार्ने प्रयास सुरु गरिसकेका छन्।’
अध्यक्ष ओलीले एमालेको विजयका लागि घर–घर, गाउँ–गाउँ अभियानलाई अझ सशक्त बनाउन कार्यकर्तालाई निर्देशन दिएका छन्। उनले चुनाव जित्न रणनीतिक तयारी र संगठनको मजबुती अपरिहार्य रहेको पनि बताए।
प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया