काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले मुलुकलाई ठग्ने र लुट्ने जो–कोहीलाई पनि उन्मुक्ति नदिइने चेतावनी दिएका छन्। चुनावी सभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा संलग्न व्यक्ति र देशको सम्पत्ति विदेश पुर्याउनेहरूको अनिवार्य छानबिन र हिसाबकिताब गरिने बताएका हुन्।
लामिछानेले आफ्नो पार्टी सत्तामा पुगेपछि राजनीतिक प्रतिशोध नलिने तर सुशासन र पारदर्शिताको सवालमा कसैलाई नछोड्ने स्पष्ट पारे। उनले जनता र देशलाई ठगेर आर्जन गरिएको तथा विदेशमा जम्मा गरिएको सम्पत्तिसमेत खोजी गरिने बताए।
नेपाल कम्युनिस्ट पार्टी एमाले का अध्यक्ष केपी शर्मा ओली ले कांग्रेस नेता शेरबहादुर देउवा को घरमा जलेको भनिएको पैसासम्बन्धी सामग्रीलाई ‘एआई’ भनेको प्रसंग उल्लेख गर्दै लामिछानेले त्यसको पनि सत्यतथ्य सार्वजनिक गरिने बताएका छन्। एआई भनेर दाबी गरिएका सामग्रीको समेत परीक्षण हुनुपर्ने उनको भनाइ छ।
वैदेशिक रोजगारीका कारण युवाहरू विदेशिन बाध्य भएको अवस्थाप्रति संकेत गर्दै उनले श्रमिकको पसिनाको मूल्य र जनताको पीडाको पनि हिसाब हुने बताए। साथै आगामी २१ गतेको निर्वाचनमा घण्टी चुनाव चिह्नमा मतदान गरी लुटतन्त्र अन्त्य गर्ने अभियानमा साथ दिन मतदातालाई अपिल गरेका छन्।
प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया