काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुलीले पार्टी परित्याग गरेका छन्। रास्वपा प्रवेश गर्नु अघि कांग्रेसमा रहेका पराजुली पुनः कांग्रेसमै फर्किएका छन्। आज बिहान सर्लाहीमा कांग्रेस सभापति गगन कुमार थापाले पराजुलीलाई कांग्रेसमा स्वागत गरेका छन्।
पराजुली २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नं. २ बाट उम्मेदवार बनेका थिए। मकवानपुरको मनहरी गाउँपालिकाका निवासी पराजुली पश्चिम मकवानपुर क्षेत्रमा बलियो पकड भएका नेता मानिन्छन्। प्रतिनिधि सभा निर्वाचनमा रास्वपाबाट टिकटको प्रमुख दावेदार भएपनि पछि आउने नेतालाई टिकट दिएको कारण उनी असन्तुष्ट बनेका थिए। मकवानपुरमा पार्टी निर्माणमा योगदान गरेका कार्यकर्तालाई पाखा लगाएर पछि आउनेलाई टिकट दिएको भन्दै रास्वपाका धेरै कार्यकर्ता असन्तुष्ट भएका थिए।
कांग्रेस प्रवेश गरेपछि पराजुलीले भने कि रास्वपामा बसेर सच्चा राजनीति गर्न नसकिने देखेर कांग्रेसमा फर्किएको हो। उनले भने, रास्वपाको संगठन विस्तारमा धेरै दुःख गरेँ, तर त्यो पार्टी दुःख गर्नेका लागि होइन रहेछ। पुँजीवादी सोच भएको पार्टीमा बस्न मन नलागेर कांग्रेसमा फर्किएँ।
प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार












प्रतिक्रिया