दमक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले दमकको भ्यूटावर नागरिकको प्रत्यक्ष उपयोगिता सुनिश्चित गर्दै सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
झापा–५ का लागि सार्वजनिक गरेको आफ्नो चुनावी वाचापत्रमा बालेनले दमकको सभागृह र भ्यूटावर लगायतका पूर्वाधार योजनाहरू उच्चतम स्तरको नागरिक उपयोगिताका लागि सञ्चालनमा ल्याइने स्पष्ट पारेका छन्। त्यस्तै, दमक–रवि–चिसापानी सडकलाई पनि निर्माण गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
उनले आदिवासी जनजातिको संस्कृति र इतिहास झल्किने रंगशाला निर्माण गर्ने योजना समेत सार्वजनिक गरे। साथै दमकलाई पूर्वी नेपालको आईटी हबको रूपमा विकास गर्न आवश्यक पूर्वाधार र नीतिगत व्यवस्था सुनिश्चित गर्ने वाचा बालेनले गरेका छन्।
भूमि व्यवस्थापनसम्बन्धी वाचापत्रमा उनले १०० दिनभित्र आयोग गठन गरी, एक हजार दिनभित्र समस्याको समाधान गर्ने योजना उल्लेख गरेका छन्। वाचापत्रमा भनिएको छ, “झापा–५ का भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्यालाई न्यायोचित र दिगो तरिकाले समाधान गर्न रास्वपा सरकार गठन भएको १०० दिनभित्र आयोग गठन, १००० दिनभित्र नीति कार्यान्वयन गरी अधिकार सम्पन्न आयोगमार्फत समयसीमा भित्र समाधान गरिनेछ।”
बालेनले बाँझो जमिनको सदुपयोग सुनिश्चित गर्न ‘ल्याण्ड बैंक’ स्थापना गर्ने, जग्गा चक्लाबन्दी तथा एकीकरण प्रवर्द्धन गर्ने, ऐलानी जमिनको उचित व्यवस्था मिलाउने र नक्सा अभिलेखीकरण कार्य सम्पन्न गर्ने योजना पनि वाचापत्रमा समेटेका छन्।
स्वास्थ्य क्षेत्रमा उनले दमक अस्पताललाई पहिलो चरणमा ३०० शैयाको स्तरोन्नति गर्ने र विपन्न, असहाय तथा बेवारिसे बिरामीको लागि कुल शैयाको १० प्रतिशत नि:शुल्क उपचार उपलब्ध गराउने कानुनी व्यवस्था सशक्त रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।
बालेनले वाचापत्रका सबै योजनाहरूको कार्यान्वयनमा रास्वपाको नेतृत्वमा सक्रिय भूमिका खेल्ने पनि वाचा गरेका छन्।
प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया