काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले निर्माण व्यवसायीप्रति दिएको पछिल्लो अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।
महासङ्घले सोमबार आयोजित पत्रकार सम्मेलनमा उक्त अभिव्यक्तिले देशभरका ३० हजारभन्दा बढी निर्माण व्यवसायीको सम्मानमा ठेस पुगेको भन्दै शाहले तत्काल सार्वजनिक रूपमा आत्मालोचना गर्नुपर्ने माग गरेको छ।
फागुन ६ गते धनगढीमा भएको चुनावी सभामा शाहले निर्माण कार्यमा ढिलाइ भएको विषयमा टिप्पणी गर्दै व्यवसायीहरूलाई “रुखमा बाँधेर, बाटोमा सुताएर वा खोरमा जाकेर भएपनि बाटो बनाउनुपर्ने” भन्ने अभिव्यक्ति दिएका थिए। महासङ्घले यसलाई ‘अमर्यादित, अराजक र उत्तेजक’ अभिव्यक्ति भएको ठहर गरेको छ।
महासङ्घका अनुसार विकास निर्माणमा ढिलाइ हुनुको मुख्य कारण व्यवसायी मात्र नभई मुलुकका अव्यवहारिक ऐन–कानुन र सरकारको नीतिगत कमजोरी पनि रहेको छ। प्राविधिक पृष्ठभूमि भएका जिम्मेवार नेताले सत्य तथ्य नबुझी सस्तो लोकप्रियताका लागि धम्कीपूर्ण भाषा प्रयोग गर्नु निर्वाचन आचारसंहिता विपरीत पनि रहेको महासङ्घको भनाइ छ।
साथै महासङ्घले सरकारले अपनाएको अदूरदर्शी नीतिका कारण मुलुकभर करिब ३० हजार आयोजना अलपत्र अवस्थामा रहेको र साढे ६ खर्बभन्दा बढीको लागतमा भएका यी आयोजनाहरू सम्पन्न गर्ने आर्थिक क्षमता र स्रोत सरकारसँग नभएको जानकारी दिएको छ।
महासङ्घले मुलुकमा विद्यमान ऐन–कानुन विकास निर्माणका मुख्य बाधक भएको अवस्था रहेका बेला, जिम्मेवार पार्टीका पदाधिकारीबाट ३० हजारभन्दा बढी निर्माण व्यवसायीको प्रतिष्ठामा आँच पुर्याउने अभिव्यक्तिप्रति तत्काल सार्वजनिक आत्मालोचना गर्नुपर्ने जोड दिएको छ।
अमर्यादित र उत्तेजक भाषणलाई गम्भीर रूपमा लिई आवश्यक निर्देशन दिन महासङ्घले निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराएको छ।
प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया