काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव तथा दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शङ्कर पोखरेल मतदाता भेटघाटमा व्यस्त भएका छन्।
मत माग्न जाँदा उनले सङ्घ, प्रदेश र स्थानीय तहमा एमाले नेतृत्वमा रहँदा गरिएका कामबारे जानकारी गराउने तथा एमालेमाथि फैलाइएका भ्रम चिर्ने प्रयास भइरहेको बताएका छन्।
घोराही–६ लालीगुराँस टोलमा मतदाता भेटघाटका क्रममा स्थानीयवासीले सडक र सिँचाइ योजनाको काम थालनी भएकोमा धन्यवाद दिँदै बाँकी सडक ग्राभेल र कल्भर्ट निर्माण गर्न माग गरेका छन्।
एमाले वडा कमिटी अध्यक्ष मोहन खड्काले एमाले नेतृत्वमा गत वर्ष वडामा २० करोड रुपैयाँभन्दा बढीका योजना ल्याइएको र चालु वर्ष पनि सङ्घ, प्रदेश तथा स्थानीय सरकारमार्फत १७ करोड रुपैयाँभन्दा बढीका योजना ल्याइएको दाबी गरे। वडा नम्बर ४ र ७ मा पुगेको एमाले प्रचार टोलीसँग स्थानीयले चुनावी वाचा भन्दा अघिल्लो कार्यकालमा गरिएका विकासका कामका आधारमा मत दिने बताएका छन्।
घोराही–७ का क्रिमलाल चौधरीले विगतमा वर्षायाममा चप्पल हातमा र साइकल काँधमा बोकेर हिँड्नुपर्ने अवस्था रहेको स्मरण गर्दै एमाले नेतृत्वको सरकारले बजेट विनियोजन गरेपछि सडक कालोपत्रे भएको बताए। पुरानाले केही गरेनन् भन्ने भ्रम चिर्न गाउँ नै सक्रिय भएको उनको भनाइ छ।
महासचिव पोखरेलले टोलटोल र बस्तीबस्ती पुगेर विभिन्न जातीय समुदाय, धार्मिक संस्था तथा किसानका घरमा भेटघाट गर्दै आफू र आफ्नो पार्टीका पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन्।
प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया