काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी देशको विकास हुन नसक्ने बताएका छन्। देश गफले नभई कामले बन्ने अध्यक्ष साम्पाङ भनाइ छ।
भोजपुरको हतुवागढी र आमचोक गाउँपालिकामा आज भएको चुनावी सभा तथा भेटघाटका क्रममा अध्यक्ष साम्पाङले अन्य पार्टीहरुले काम गर्ने क्षमता नदेखाएको बताए। उनले गफले मात्रै मुलुक नबन्ने भएकाले श्रम अनिवार्य गर्नुपर्नेमा जोड दिए।
उनले अन्य राजनीतिक दलहरू विकासका नाममा भाषण र आश्वासनमै सीमित भएको बताउँदै काम गर्ने मानिसलाई हेप्ने र गफ गर्ने मानिसलाई सम्मान गर्ने गलत संस्कार देखिएको बताए। सो क्रममा अध्यक्ष साम्पाङले युवाहरुलाई पैसामा नलोभिन आग्रहसमेत गरे।
श्रम संस्कृति श्रम गर्ने र गरिखानेहरुको पार्टी भएकाले विश्वास गर्न उनले सबैलाई आग्रहसमेत गरे। उनले भोजपुर र उदयपुर जोड्ने चुहारको निर्माणाधीन पुलको समेत अवस्था बुझ्दै काम गर्ने अवसर दिएमा पुल बनाउने जिम्मा लिनेसमेत बताए।
यो पुल भोजपुरको जीवनरेखा भएको बताउँदै साम्पाङले आठ वर्षमा पनि पुल नबनेकाले आफूहरुलाई काम गर्ने अवसर दिन आग्रह गरे। रासस
प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया