काठमाडौं । सप्तरीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को झण्डा र ब्यानर जलाएर अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। सप्तरी जिल्ला अन्तर्गत महादेवा गाउँपालिका–५ भगवतपुरमा एमालेको सूर्य चिन्ह अंकित झण्डा र फोटोसहितको ब्यानर जलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानका क्रममा भिडियोमा अश्लील भाषामा गाली गर्ने व्यक्तिको पहिचान गर्दै प्रहरीले ३१ वर्षीय हरि नारायण मण्डल लाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सप्तरी का अनुसार उक्त घटना फागुन ६ गते राति करिब ९ बजे भएको थियो।
भिडियोको आधारमा खोजतलास गर्दा मण्डलको संलग्नता पुष्टि भएपछि उनलाई फागुन ८ गते बेलुका महादेवा गाउँपालिका–३ बाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। सोधपुछका क्रममा मण्डलले भिडियोमा सुनिएको आवाज आफ्नै भएको र गालीगलौज आफूले नै गरेको स्वीकार गरेका छन्।
हाल मण्डलमाथि सार्वजनिक शान्ति विरुद्धको कसूरमा मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइएको छ। राजविराज स्थित जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसबारे जानकारी प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता डम्बर बहादुर पुरी ले दिएका छन्।
प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया