काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको नौ दिनअघि देशका विभिन्न स्थानमा निषेधाज्ञा र कर्फ्यु लगाएर मतदातामा डर र त्रास सिर्जना गरिएको आरोप लगाएको छ ।
पत्रकार सम्मेलनमा पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर शाही ले सर्वसाधारणको शान्ति सुरक्षाका नाममा निषेधाज्ञा जारी गर्नु सुरक्षा व्यवस्थापनको कमजोरी भएको बताए । उनले मधेस–तराईका जिल्लामा लगाइएको कर्फ्युले मतदातालाई मतदान केन्द्रसम्म पुग्न अवरोध पुर्याउने खतरा रहेको उल्लेख गरे ।
एमालेले सरकारको कदमले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने र लोकतान्त्रिक मूल्यमान्यतामाथि प्रश्न उठाउने ठहर गरेको छ । साथै, निर्वाचन सार्ने भ्रामक हल्लाप्रति ध्यानाकर्षण गराउँदै घोषित मितिमै चुनाव हुनुपर्ने अडान दोहोर्याएको छ ।
पार्टीले आफूलाई स्थायित्व, समृद्धि र सुशासनको विश्वसनीय आधारका रूपमा प्रस्तुत गर्दै ‘भोट फर चेन्ज’ होइन, ‘भोट फर नेशन’ को नारा अघि सारेको जनाएको छ ।
प्रतिनिधिसभा विघटनको विषय संवैधानिक परीक्षणबाट प्रमाणीकरण हुनुपर्ने अडान राख्दै एमालेले सर्वोच्च अदालत को आलटालप्रति असन्तुष्टि जनाएको छ । साथै, ‘जेनजी’ उपद्रवमा संलग्नलाई आममाफी दिने निर्णयले दण्डहीनता बढाउने आरोप पनि लगाएको छ ।
निर्वाचनको संवेदनशील समयमा केही सञ्चारमाध्यमले एकपक्षीय मत सर्वेक्षण सार्वजनिक गरी जनमत प्रभावित पार्न खोजेको भन्दै एमालेले आपत्ति जनाएको छ । सामाजिक सञ्जालमार्फत गलत सूचना र कृत्रिम सामग्री प्रसार गरी राजनीतिक ध्रुवीकरण गराउने प्रयासप्रति पनि पार्टीले चिन्ता व्यक्त गर्दै सबै पक्षलाई जिम्मेवार हुन आग्रह गरेको छ ।
प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार












प्रतिक्रिया