काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इटहरीमा गरेको कोशी प्रदेशस्तरीय आमसभालाई लक्षित गर्दै सहकारी पीडित र एमसीसीबारे प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै साम्पाङले रास्वपा सभापति रबि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई लक्षित गर्दै १४ जिल्लाबाट कार्यकर्ता उतारिएको सभामा “नो एमसीसी” भन्ने हिम्मत भयो कि भएन भनी प्रश्न गरेका छन्। उनले ७४ लाख सहकारी पीडितको विषयमा सभामा चर्चा भए–नभएकोबारे पनि जिज्ञासा राखेका छन्।
साम्पाङले रास्वपाको सभाले सिंहदरबार जलाएको औचित्य पुष्टि गर्यो कि गरेन भन्दै टिप्पणी गरेका छन्। किसानलाई ‘फोहोर’ भन्ने अभिव्यक्तिप्रति संकेत गर्दै उनले मजदुर र सुकुम्वासीबारे पार्टीको धारणा के हो भनी प्रश्न गरेका छन्।
उता, इटहरीमा आयोजित आमसभामा बालेन्द्र शाहले धरानको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए। उनले सप्तकोशीको पानी लिफ्टिङ गरेर धरान पुर्याउने योजना अघि सार्दै करिब ५ अर्ब रुपैयाँ खर्च लाग्ने दाबी गरेका थिए। साथै उनले हालको सरकारले जनप्रतिनिधिको पहुँच प्रयोग गरेर काम गरे–नगरेको विषयमा पनि प्रश्न उठाएका थिए।
रास्वपाले सुनसरीको इटहरीमा आयोजना गरेको उक्त सभापछि राजनीतिक वृत्तमा बहस तीव्र बनेको छ।
प्रकाशित मिति: १३ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया