काठमाडौं । नेकपा (एमाले) का तर्फबाट लमजुङका प्रतिनिधि सभा सदस्य उम्मेदवार एवं पूर्वन्त्री पृथ्वीसुब्बा गुरुङले घरदैलो अभियानलाई तीव्रता दिएका छन्।

बुधबार लमजुङको प्यारजुङस्थित एक विवाह समारोहमा पुगेर गुरुङले नवदम्पतीलाई शुभकामना दिनुका साथै उपस्थित मतदाताहरूसँग भोट मागे।

advertisement

विवाह समारोहमा उपस्थित स्थानीय बासिन्दालाई सम्बोधन गर्दै उम्मेदवार गुरुङले भने, ‘सर्वप्रथम नवदम्पतीको सफल र सुखमय दाम्पत्य जीवनको शुभकामना व्यक्त गर्दछु। अहिले देश चुनावमय भएको छ र म नेकपा एमालेको तर्फबाट लमजुङको उम्मेदवार बनेर तपाईंहरूमाझ आएको छु।’

लमजुङको विकास निर्माणका अधुरा काम पूरा गर्न आफू पुनः चुनावी मैदानमा आएको स्पष्ट पारे। उनले भने, ‘हामीले सुरु गरेका थुप्रै विकासका आयोजनाहरू अहिले पनि अधुरै छन्। गाउँगाउँमा सडक पुगे पनि पक्की बाटो बन्न सकेको छैन। १० वर्षभित्र लमजुङका सबै सडक पक्की गर्ने मेरो लक्ष्य छ।’

उनले थपे, ‘म मुख्यमन्त्री हुँदा धेरै कामको सुरुवात गरेको थिएँ। अहिले पनि मेरो एउटै उद्देश्य भनेको लमजुङको समृद्धि र विकास हो। त्यसैले, अधुरा कामहरू पूरा गर्न र देशलाई सही दिशामा डोर्याउन यसपटक सूर्य चिन्हमा मतदान गरी एमालेलाई विजयी गराउनुहुन हार्दिक अपिल गर्दछु।’

गुरुङले आफूलाई प्रत्यक्षतर्फ र पार्टीलाई समानुपातिकतर्फ मतदान गर्न आग्रह गरे। उनले एमालेको समानुपातिक उम्मेदवारका रूपमा खसआर्य महिलातर्फ दोस्रो नम्बरमा रहेकी टुका हमाललाई पनि मतदान गर्न उपस्थित मतदातालाई अपिल गरे।

‘देश अहिले समस्यामा छ। यो समस्याबाट देशलाई पार लगाउन र जिल्लाको विकास गर्न हामीलाई तपाईंहरूको अमूल्य मत चाहिएको छ,’ गुरुङले भने।

कार्यक्रममा उनले आफू जहिले पनि जनताको सेवामा समर्पित रहेको र भविष्यमा पनि लमजुङवासीको साथमै रहने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति: १३ फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com