काठमाडौ । ढोरपाटन (बागलुङ) । बागलुङको जैमिनी क्षेत्रमा मत माग्न पुगेका उम्मेदवारलाई स्थानीय मतदाताले चुनाव जितेपछि बाँदर नियन्त्रणका लागि प्रभावकारी नीति ल्याउन आग्रह गरेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गाउँ पुगेका उम्मेदवारसँग स्थानीयले बाँदर आतंकका कारण गाउँमा बस्नै कठिन भएको गुनासो गरेका हुन्।

जैमिनी नगरपालिका–५ की कुमारी थापाका अनुसार बसाइँसराइका कारण गाउँ रित्तिँदै गएपछि बाँदर गाउँमै बस्न थालेका छन्। उनले बारीमा लगाएको बालीदेखि घरमा राखिएको सरसामानसम्म बाँदरले नष्ट गर्ने गरेको बताइन्। गाउँमा बस्ने वातावरण बनाउन सक्ने र बाँदर नियन्त्रणको योजना ल्याउने नेतालाई मात्र भोट दिने उनले स्पष्ट पारिन्।

advertisement

उनले भनिन्, “बाँदरका कारण न बाली सुरक्षित छ, न घरका सामान। यस्तो अवस्थामा गाउँमा बस्न निकै गाह्रो भएको छ। पहिले विकास नभएर मानिस बजार झरे, अहिले विकास भए पनि बाँदरकै कारण गाउँ छोड्नुपर्ने अवस्था आएको छ। जसले बाँदर नियन्त्रण गर्छ, उसैलाई भोट दिनेछौँ।”

स्थानीय प्रतीमा पौडेलले पनि पछिल्लो समय बाँदरको समस्या झन् बढेको बताए। पहिले वनमा बस्ने बाँदर अहिले गाउँमै आउन थालेको र केटाकेटी तथा वृद्धवृद्धालाई समेत आक्रमण गर्ने गरेको उनले बताए। घर छोडेर मेलापात जाँदा घर कुरुवा राख्नुपर्ने अवस्था आएको उनको गुनासो छ।

उनले भने, “पछिल्लो पाँच वर्षदेखि बाँदरले गाउँमा आतंक मच्चाएको छ। हुनेखानेहरू शहरतिर बसाइँ सरे, गाउँमा सामान्य परिवार मात्रै बाँकी छन्। पहिले धेरै मानिस हुँदा बाँदर डराउँथे, अहिले त धपाउन खोज्दा उल्टै आक्रमण गर्न आउँछन्। त्यसैले भोट माग्न आउने नेतालाई बाँदर नियन्त्रण गरी गाउँमा बस्ने वातावरण मिलाउन आग्रह गरेका छौँ।”

यस्तै, बरेङ–१ का तमबहादुर विकले जनताको समस्या बुझेर समाधान गर्ने उम्मेदवारलाई मात्र भोट दिने बताए। उनका अनुसार यसपालि किसानका समस्या समाधान गर्न सक्ने र गाउँको आवश्यकता बुझ्ने नेतालाई प्राथमिकता दिने मतदाताको सोच रहेको छ।

प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com