झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झापा निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी सहयोग गर्न नेकपाका उम्मेदवार रञ्जित तामाङलाई ‘ब्याक’ गराउने नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रयास असफल भएको छ ।
तामाङले सार्वजनिक रूपमा नै प्रचण्डसँग भएको टेलिफोन वार्ताको उल्लेख गर्दै कसैलाई पनि चुनावी सहयोग नगर्ने स्पष्ट अडान लिएका छन् । उनले भनेका छन्, “सामाजिक सञ्जाल तथा विभिन्न ठाउँमा आएका प्रचारहरूमा सत्यता छैन । प्रचण्डले कसैसँग तालमेल नगर्ने भनिसक्नुभएको छ ।”
प्रचण्डले तामाङलाई ओलीलाई सहयोग गर्न मनाउने प्रयास गरे पनि लामो समयदेखि क्षेत्रमा चुनावी प्रचारमा सक्रिय रहेका तामाङले आफ्नो अडान परिवर्तन नगरेको स्रोतहरूले बताएका छन् । तामाङले ओलीलाई साथ दिन नसकिने अडान कडाइका साथ कायम राखेका छन् ।
झापा–५ मा केपी शर्मा ओलीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह पनि निर्वाचनमा प्रतिस्पर्धामा छन् । तामाङ पनि आफ्नो प्रचार अभियानलाई तीव्र बनाइरहेका छन् ।
यसअघि ओलीले एक अन्तर्वार्तामा प्रचण्डसँग सहकार्यको सम्भावना रहेको संकेत दिएका थिए भने प्रचण्डले बुधबार कांग्रेस र एमालेसँग सहकार्य हुन सक्ने बताउँदै झापा–५ लाई विशेष रूपमा उल्लेख गरेका थिए । तर, तामाङको अडानले यो सम्भावनालाई कमजोर बनाएको छ ।
यो घटनाले झापा–५ मा चुनावी समीकरण थप जटिल बनेको छ ।
प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया