काठमाडाैं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं रुकुम पश्चिमका उम्मेदवार जनार्दन शर्माले जिल्लाको समृद्धिका लागि ‘नयाँ सपना’ पूरा गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्।

चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतको राजनीतिक संघर्ष अधिकार र समानताका लागि केन्द्रित भएको उल्लेख गर्दै अबको चरण विकास, समृद्धि र सुविधा विस्तारमा केन्द्रित हुने बताए। २०६३/६४ देखि संसदमार्फत रुकुमको नेतृत्व गर्दै आएको स्मरण गराउँदै उनले त्यतिबेला गरेका पूर्वाधार विकाससम्बन्धी प्रतिबद्धताहरू क्रमशः कार्यान्वयन हुँदै आएको दाबी गरे।

advertisement

शर्माले रुकुममै ३ सय शैय्याको सुविधासम्पन्न अस्पताल तथा मेडिकल कलेज सञ्चालन गर्ने आफ्नो मुख्य योजना रहेको जानकारी दिए। उक्त परियोजनाले रुकुम पश्चिमसँगै जाजरकोट, सल्यान, रोल्पा र सुर्खेतका नागरिकलाई समेत लाभ पुग्ने उनले बताए। यसका लागि मध्यपश्चिम विश्वविद्यालयसँग समन्वय भइरहेको जानकारी पनि उनले दिए।

उनले गाउँ–गाउँमा सडक सञ्जाल विस्तार, विद्युतीकरण, “एक घर एक धारा” अभियानलाई पूर्णता दिने तथा वडा तहदेखि जिल्ला अस्पतालसम्म स्वास्थ्य सेवा स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै युवाहरूको रुचिअनुसार क्रिकेटलगायतका खेल मैदान निर्माण गरी खेलकुदलाई व्यवसायिक रूपमा अघि बढाउने योजना रहेको बताए।

मतदातासँग मत माग्दै शर्माले आफूलाई जनताको ‘कामदार’ र जनतालाई ‘मालिक’को संज्ञा दिँदै रुकुमको विकास यात्रामा साथ दिन आग्रह गरे।

प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com