काठमाडौं । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत नेपाली कांग्रेस ले आगामी निर्वाचनमा आफ्नो पक्षमा “चुनावी लहर” रहेको दाबी गरेको छ। पार्टीको केन्द्रीय कार्यालयमा सोमबार आयोजित कार्यक्रममा बदलिँदो राजनीतिक संक्रमणलाई चिर्दै देशको थिति सम्हाल्ने र समुन्नत राष्ट्र निर्माण गर्ने जिम्मेवारी आफूहरूसँगै रहेको जिकिर गरिएको हो।

पार्टीको केन्द्रीय प्रचार–प्रसार समितिले जारी गरेको विज्ञप्तिअनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारहरूले सघन प्रचारप्रसार र मतदातासँग प्रत्यक्ष अन्तरक्रिया गरिरहेका छन्। चुनाव प्रचार अभियान अन्तिम चरणमा पुगेको उल्लेख गर्दै सभापति, उपसभापति लगायत शीर्ष नेताहरू विभिन्न सहरमा आयोजित क्षेत्रीय सभालाई सम्बोधन गरिरहेको जानकारी दिइएको छ।

advertisement

पार्टीका प्रवक्ता देवराज चालिसेले सुर्खेत र बाँकेमा क्षेत्रीय सभाहरू सम्पन्न भएको बताए। साथै अन्य दल परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरूको आकर्षण बढिरहेको दाबी गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपरासी पश्चिमका सभापति महेन्द्र सिंह ठकुरी बर्दघाटमा कांग्रेस प्रवेश गरेको जानकारी दिए। त्यस्तै सुर्खेतमा आयोजित सभामा विभिन्न कम्युनिस्ट पार्टीका नेताहरू धनलाल गुरुङ, बलराम रावल, भोजराज मल्ल र नारायण बस्नेतसहित ८० जना कांग्रेसमा समाहित भएका बताइएको छ।

आगामी शुक्रबार पोखरा मा आयोजना हुने आमसभामा विभिन्न दलका नेता–कार्यकर्ता, स्वतन्त्र व्यक्तित्व तथा ‘जेन–जी’ आन्दोलनका अगुवाहरू समेत कांग्रेसमा प्रवेश गर्ने कार्यक्रम रहेको चालिसेले जनाए।

कांग्रेसले निर्वाचन आचारसंहिताको पूर्ण पालना आफ्नो प्रमुख प्राथमिकता भएको स्पष्ट पार्दै उल्लंघन गर्नेमाथि तत्काल कडा कारबाही गर्न निर्वाचन आयोगसँग माग गरेको छ। चुनावी प्रचारका क्रममा विभाजनकारी अभिव्यक्ति, सामाजिक सद्भाव बिथोल्ने गतिविधि तथा व्यक्तिगत घृणा फैलाउने प्रवृत्तिको कडा आलोचना गर्दै पार्टीले लोकतन्त्रलाई व्यवहार र आचरणबाटै सुदृढ बनाउन सबै दल र नागरिक समाज जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ।

साथै, लोकतन्त्रमा शासनको वैधताको स्रोत जनताको मत नै भएको उल्लेख गर्दै कांग्रेसले भयरहित वातावरणमा मतदान गर्ने नागरिकको अधिकार सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com