काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले केही मिडिया र सामाजिक सञ्जालमा सार्वजनिक भएका निर्वाचन प्रक्षेपणहरू गलत मनसायबाट आएको दाबी गरेका छन्। स्वदेशी तथा विदेशी भरपर्दा संस्थाहरूले गरेको वास्तविक प्रक्षेपण केही दिनमै सार्वजनिक हुने उनले बताए।

आज बुटवलमा प्रेस चौतारी निकट पत्रकारसँगको अन्तरसंवादमा बोल्दै रुपन्देही क्षेत्र नं. २ का उम्मेदवारसमेत रहेका पौडेलले योजनाबद्ध रूपमा सार्वजनिक गरिएका प्रक्षेपणहरू तथ्यपरक नभएको दाबी गरे। “सेटिङका आधारमा विभिन्न प्रकारका प्रक्षेपण गरिएका छन्, तर ती वास्तविक होइनन्। फिल्डको अवस्था धेरै फरक छ, ती प्रक्षेपण फेल खानेछन्,” उनले भने।

advertisement

उनले भरपर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले गरेका प्रक्षेपणमा अहिले जस्तो भ्रम नरहेको दाबी गरे। यस्ता प्रक्षेपण सार्वजनिक गर्न हुने वा नहुने विषयमा पछि छलफल गर्न सकिने उनले उल्लेख गरे।

उपाध्यक्ष पौडेलले एमाले राष्ट्रिय राजनीतिको मियो भएकाले पार्टीलाई ठूलो शक्ति बन्नबाट कसैले रोक्न नसक्ने बताए। उनले रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्र तथा लुम्बिनी प्रदेशका २६ वटै क्षेत्रमा एमाले बहुमतसहित पहिलो शक्ति बन्ने दाबी गरे।

“निर्वाचनपछि एमाले राष्ट्रिय राजनीतिको ड्राइभिङ सिटमा बस्नेछ,” उनले भने, “एमालेविरुद्ध गरिएका अनर्गल प्रचारबारे मतदाता स्पष्ट भइसकेका छन्।”

पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले विगतमा सुरु गरिएका विकास आयोजनाहरू सम्पन्न गर्न र नयाँ योजनाहरू अघि बढाउन जनताको समर्थन आवश्यक रहेको बताए। उनले रुपन्देहीलाई नमुना जिल्ला बनाउने लक्ष्य राखिएको उल्लेख गर्दै निर्माणाधीन बुटवल–नारायणगढ र बुटवल–गोरुसिङ्गे सडक आयोजना, सिद्धबाबा सुरुङमार्ग, सिद्धार्थ राजमार्ग स्तरोन्नति तथा कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनालाई प्राथमिकतामा राखिएको बताए।

सिद्धार्थ राजमार्ग स्तरोन्नतिपछि लुम्बिनी र गण्डकी प्रदेशका पर्यटकीय क्षेत्र आपसमा जोडिने र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनको भनाइ थियो। रुपन्देहीमा सञ्चालनमा रहेका पूर्वाधार आयोजनाहरू समयमै सम्पन्न गर्न एमालेको जित अपरिहार्य रहेको उनले बताए।

प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com