काठमाडौं । नेपाली कांग्रेस का सभापति गगनकुमार थापा ले एक्लै देश बनाउँछु भनेर अघि बढ्नेहरूले मुलुक बनाउन नसक्ने बताएका छन् ।
बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कुनै एक व्यक्तिबाट चमत्कार सम्भव नहुने उल्लेख गरे । लोकतन्त्रमा कुनै पनि व्यक्ति रातारात देउता वा राक्षस हुन सक्दैन । मुलुक बनाउने काम टिमले गर्छ, र नेपाली कांग्रेस टिमसहित आएको छ, थापाले भने ।
उनले प्रधानमन्त्री मात्र होइन, कांग्रेस एक्लैले पनि मुलुक बनाउन नसक्ने स्पष्ट पारे । संविधान संशोधनजस्ता विषयमा सबै दलको सहमति र सहकार्य आवश्यक पर्ने उल्लेख गर्दै ‘म एक्लैले गर्छु’ भन्ने प्रवृत्तिले देशलाई गम्भीर दुर्घटनातर्फ लैजान सक्ने चेतावनी दिए ।
थापाले देशलाई सही गन्तव्यमा पुर्याउन स्पिड मात्र नभई ‘स्पिरिट’ पनि आवश्यक हुने बताए । “हामी सुझबुझका साथ सबैलाई एउटै गाडीमा राखेर स्पिरिट र स्पिडका साथ मुलुकलाई गन्तव्यमा पुर्याउन चाहन्छौँ,” उनले भने ।
उनले बुटवल लाई केन्द्रमा राखेर लुम्बिनी प्रदेश का सबै जिल्लालाई समृद्ध बनाउने आवश्यकता औँल्याए । बुटवलमा पूर्वाधार विकास भए पनि मानिसलाई थेगेर राख्न नसकेको उल्लेख गर्दै आसपासका जिल्लामा रोजगारी र अवसर सिर्जना गर्नुपर्ने बताए ।
सामाजिक सञ्जाल र मोबाइलबाट फैलिने उत्तेजनात्मक राजनीतिमा नबहकिन उनले आग्रह गरे ।
शुक्रबार बिहान सर्लाही बाट हेलिकप्टरमार्फत बुटवल आएका थापाले त्यहाँको सभालाई सम्बोधन गरेपछि आजै लुम्बिनी, गोरुसिङ्गे (कपिलवस्तु), पर्वत र कास्की मा आयोजना हुने सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार












प्रतिक्रिया