काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले दुई प्रकारका अतिवादलाई पोषित गर्ने खतरा रहेको बताएका छन् ।
पोखरामा शुक्रबार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै सभापति थापाले मतदाता तथा पार्टी कार्यकर्ताहरूलाई अतिवादबाट देश जोगाउन सचेत रहन आग्रह गरे । उनले भने, “निर्वाचनपछिको अवस्थाले दुई किसिमका अतिवादलाई पोषित गर्ने खतरा छ । एउटा अतिवाद भदौ २३ र २४ गतेका घटनाको अवमूल्यन गर्छ, त्यो भएको नै होइन भन्छ, केवल षड्यन्त्र थियो भन्छ । त्यहाँ युवाहरूको सहभागिता देख्दैन, असन्तुष्टि व्यक्त भएको देख्दैन ।”
उनले अर्को अतिवादबारे पनि टिप्पणी गरे । “त्यस्तै अर्को अतिवाद छ, जसले मौका छोपेर सिंहदरबार पनि जलाउन लगाउँछ, मौका पर्दा आफैं जेलबाट भाग्छ ।” यी दुवै अतिवाद हिजो देखिएकाले भोलि पनि दोहोरिन सक्ने उनको चिन्ता थियो ।
सभापति थापाले आगामी पाँच वर्षको अवधि निकै संवेदनशील रहेको उल्लेख गर्दै भने, “अब कुनै पनि प्रकारको द्वन्द्व नेपालले खेप्न सक्दैन । न जातीय, न धार्मिक, न सहर–पहाडको कुनै पनि द्वन्द्व बेहोर्न सक्दैन । यो भन्दा बढी घाउ यसले बेहोर्न सक्दैन । यसलाई सम्हालेर मिलाएर लैजानुपर्छ ।”
उनले निर्वाचनलाई देशको स्थिरता, संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि महत्वपूर्ण अवसरका रूपमा प्रस्तुत गरे । भदौ २३ र २४ गतेका घटनालाई गम्भीर रूपमा लिएर मात्र देशलाई सही दिशामा लैजान सकिने उनको भनाइ थियो ।
पोखराको चुनावी सभामा सभापति थापासहित अन्य कांग्रेस नेताहरूले पनि सम्बोधन गरेका थिए । कांग्रेसले यो निर्वाचनलाई अतिवाद र अस्थिरताविरुद्धको लडाइँका रूपमा चित्रण गर्दै मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्ने प्रयास जारी राखेको छ ।
प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया