काठमाडौं। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आज आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले मतपत्र, मतपेटिका तथा अन्य निर्वाचन सामग्री सबै जिल्लामा पुर्‍याइसकिएको जानकारी दिए । मतदान सामग्रीको ढुवानी तथा वितरण प्रक्रिया पूर्ण रूपमा सम्पन्न भएको उनले बताए ।

advertisement

मतदाता शिक्षा कार्यक्रम हाल देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वटै वडामा जारी छ । स्वयंसेवकहरू परिचालन गरी फागुन ३ गतेदेखि सुरु भएको यो कार्यक्रम फागुन १७ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममार्फत मतदाताहरूलाई मतदान प्रक्रिया, मतपत्रको प्रयोग, गोप्यता तथा निर्वाचन आचारसंहिताबारे जानकारी दिइँदै आएको छ ।

मतदान केन्द्रहरूमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू क्रमशः आफ्नो तोकिएको मतदान केन्द्रतर्फ प्रस्थान गर्न थालेका छन् । मतदान केन्द्रका रूपमा प्रयोग हुने विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयलगायतका भौतिक संरचनाहरू उपलब्ध गराउन नेपाल सरकार तथा सम्बन्धित स्थानीय तहहरूलाई आयोगले औपचारिक अनुरोध गरिसकेको छ ।

निर्वाचन सुरक्षा व्यवस्था, अत्यावश्यक सेवाहरूको निरन्तर सञ्चालन तथा सहजीकरण, निर्वाचन तथा मतदान प्रक्रियामा समन्वय र व्यवस्थापनसम्बन्धी आवश्यक निर्णयहरू आयोगबाट भइसकेका छन् । सुरक्षा निकायहरूले उच्च सतर्कता अपनाउँदै मतदान केन्द्रहरूको सुरक्षाका लागि आवश्यक जनशक्ति तथा उपकरण परिचालन गरिरहेका छन् ।

प्रवक्ता भट्टराईले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताउँदै राजनीतिक दल, उम्मेदवार, मतदाता तथा सञ्चारकर्मीहरूलाई निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गरेका छन् ।

फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नहुँदासम्म (साँझ करिब ५ बजेसम्म) अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लाग्ने व्यवस्था पनि अन्तिम चरणमा छ । यो अवधिमा एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारी तथा निर्वाचन प्रयोजनका पास प्राप्त सवारी मात्र सञ्चालन गर्न पाइनेछ ।

निर्वाचन आयोगले मतदाताहरूलाई निर्धक्क भएर मतदान केन्द्रमा पुग्न तथा आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरेको छ ।

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com