काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुलुकको नेतृत्व गर्ने नेताहरूमा राजनीतिक ज्ञान र अनुभव आवश्यक हुनुपर्नेमा जोड दिएका छन्।
नेपाली कांग्रेस म्याग्दीले आज रघुगंगा गाउँपालिका–२ भगवतीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले राजनीतिक नेतृत्वमा ज्ञान र अनुभव भएमा मात्रै मुलुकको निकास र विकास सम्भव हुने धारणा राखे।
सामाजिक सञ्जालमा पुराना र नयाँको नाममा भ्रामक सामग्री राखेर विभाजन ल्याउने र जनतालाई झुक्याउने प्रयास भएको बताउँदै उनले अनुभवले पुराना र विचार तथा योजनाले नयाँ नेतृत्वले मात्रै मुलुकलाई सही बाटोमा लैजाने बताए। ‘उत्तेजनाको राजनीतिले मुलुकलाई अस्थिरतातर्फ लैजान्छ, मुलुक चलाउने कुरा क्षणिक लहडको कुरा होइन, मतदाताहरूले विवेक प्रयोग गरेर मतदान गर्नुपर्छ’, उनले भने।
संघीयता कार्यान्वयनपछि मुलुकमा पूर्वाधार निर्माणले फड्को मारेको बताउँदै मुख्यमन्त्री पाण्डेले संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा विकास निर्माणमा नेपालमा ठूलो परिवर्तन हासिल भएको बताए।
कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सभापति खमवीर गर्बुजा र प्रतिनिधिसभा सदस्यका उम्मेदवार केवी भण्डारीले जिल्लाको विकास र संसदमा कानुन निर्माणमा सक्रिय सहभागिताका लागि कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका थिए। रासस
प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया