काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष सन्तोष परियार ले आगामी निर्वाचनलाई पुरानो र नयाँ सोचबीचको प्रतिस्पर्धा मात्र नभई देश बिगार्ने र देश बनाउने शक्तिहरूबीचको निर्णायक संघर्षको रूपमा चित्रण गरेका छन्।
शनिबार काठमाडौं क्षेत्र नं. १ का प्रलोपा उम्मेदवार सविन सिग्देल को घरदैलो अभियानपछि बानेश्वर मा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले मतदातालाई सचेत र विवेकपूर्ण निर्णय गर्न आग्रह गरे।
सभामा बोल्दै परियारले लामो समयदेखि सत्ता सञ्चालन गर्दै आएका पुराना तथा ठूला भनिने दलहरूकै कारण मुलुक भ्रष्टाचार, नातावाद र कृपावादको चक्रमा फसेको आरोप लगाए। उनले युवाहरू उच्च शिक्षा हासिल गरे पनि देशभित्रै रोजगारी नपाउने अवस्था सिर्जना भएको उल्लेख गर्दै यसपटकको निर्वाचनलाई महिला, युवा, गरिब, दलित तथा सीमान्तकृत समुदायको पक्षमा ऐतिहासिक निर्णय गर्ने अवसरका रूपमा लिन मतदातालाई आह्वान गरे।
उनले प्रलोपा अन्य दलजस्तो सामान्य राजनीतिक शक्ति नभई जनआन्दोलनको मर्म र भावनालाई केन्द्रमा राखेर गठन भएको परिवर्तनमुखी दल भएको दाबी गरे। समावेशी नेतृत्वको अभ्यास गर्दै आएको पार्टीले मात्रै राष्ट्रको हित र सुरक्षाको पक्षमा काम गर्न सक्ने उल्लेख गर्दै उनले काठमाडौं–१ का उम्मेदवार सिग्देललाई मतदान गर्न अपिल गरे।
परियारले सिग्देललाई पेशागत अनुभव भएको, युवाशक्ति प्रतिनिधित्व गर्ने र भ्रष्टाचारमुक्त छवि बोकेको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै देश विकासका लागि उनी सक्षम रहेको बताए। उनले लोकतन्त्र र संविधानको रक्षा गर्दै युवालाई रोजगारी सिर्जना गर्ने लक्ष्यसहित पार्टीको चुनाव चिह्न ‘आँखा’मा मतदान गर्न आग्रह गरे।
सोही कार्यक्रममा बोल्दै उम्मेदवार सविन सिग्देल ले भ्रष्टाचार र बेथितिविरुद्ध संघर्ष गर्दै सहिद भएका तथा परिवर्तनका लागि बलिदान दिएका युवाहरूको बलिदान खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे।
उनले देश अहिले दुई प्रकारका अतिवादको जोखिममा रहेको बताए—एकातिर जुनसुकै मूल्यमा सत्तामा टिकिरहन चाहने पुराना दलहरूको प्रवृत्ति र अर्कोतिर रातारात चमत्कारिक ढंगले देशको कायापलट हुन्छ भन्ने लोकप्रियतावादी सोच। यी दुवै प्रवृत्तिले समाजलाई गलत दिशातर्फ धकेल्ने खतरा रहेको उनको भनाइ थियो।
सिग्देलले आफू र आफ्नो पार्टी लोकतान्त्रिक प्रक्रिया र विधिमा विश्वास गर्ने वैकल्पिक शक्तिका रूपमा मैदानमा उत्रिएको स्पष्ट पार्दै न्यायप्रेमी मतदातालाई विवेक प्रयोग गरी ‘आँखा’ चुनाव चिह्नमा मतदान गरेर युवा नेतृत्वलाई विजयी गराउन आग्रह गरे।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा प्रवास विभाग इन्चार्ज ओम शर्मा सहित विभिन्न नेता–कार्यकर्ता र स्थानीय मतदाताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया