वीरगञ्ज। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा तथा शान्ति व्यवस्था कायम राख्न पर्सा जिल्लासँग जोडिएका सबै भारतीय सीमा नाका फागुन १८ गते सोमबार राति १२ बजेदेखि फागुन २१ गते बिहीबार राति १२ बजेसम्म पूर्ण रूपमा बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले जारी गरेको सूचनामा यो व्यवस्था उल्लेख छ ।
निर्वाचनको मौन अवधि तथा मतदान दिनलाई लक्षित गरी सीमा नाका बन्द गर्ने निर्णय गरिएको हो । यस अवधिमा होली तथा रमजान पर्व मनाउने क्रममा सार्वजनिक स्थानमा हो–हल्ला, झै–झगडा, मादक पदार्थ सेवन गरी शान्ति खलल गर्ने कार्य गर्न निषेध गरिएको छ । कसैको इच्छाविपरीत रंग दल्ने, पानीको लोला हान्ने, अति उत्तेजित भई भागदौड गर्ने जस्ता अमर्यादित कार्य पनि पूर्ण रूपमा बन्द गरिएको छ ।
प्रशासनले चाडपर्वलाई धार्मिक तथा सांस्कृतिक रूपमा आ–आफ्नो घर वा कम्पाउण्डभित्र मात्र मनाउन अनुरोध गरेको छ । चौर, खुला स्थान, चौक वा अन्य सार्वजनिक ठाउँमा भेला भएर भिड जम्मा गर्ने, मेला–महोत्सव गर्ने, मञ्च बनाई सांगितिक कार्यक्रम गर्ने गरी पर्व मनाउन निषेध गरिएको छ । कुनै पनि राजनीतिक दल वा उम्मेदवारको झण्डा वा निर्वाचन चिन्ह अंकित भेष्ट, टी–सर्ट, कमिज, गम्छा, टोपी, झोला लगायतका कपडा लगाई पर्व मनाउन पनि रोक लगाइएको छ ।
फागुन २० गते मोटरसाइकल प्रयोग गरी होली खेल्न पूर्ण निषेध गरिएको छ । यसका अतिरिक्त फागुन १६ गतेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म पर्सा जिल्लाभरि राजनीतिक दलको प्रचारप्रसार गर्न तथा कुनै पनि धार्मिक, सांस्कृतिक वा सामाजिक कार्यमा डी.जे. लगायत ध्वनी प्रदूषण हुने बाजा बजाउन निषेध गरिएको छ ।
प्रशासनले यी व्यवस्थाहरू निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन तथा चाडपर्वलाई मर्यादित रूपमा मनाउनका लागि अपनाइएको बताएको छ । कुनै पनि उल्लंघन भएमा कानुनी कारबाही हुने चेतावनी पनि दिइएको छ ।
प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया