एजेन्सी । इरान र इजरायलबीच जारी युद्धले झन् भयावह र अमानवीय रूप लिएको छ। दक्षिणी इरानको होर्मोज्गान प्रान्तस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमाथि गरिएको हवाई आक्रमणमा परी मृत्यु हुने विद्यार्थीहरूको संख्या २४ पुगेको छ।

यसअघि पाँच जनाको मृत्यु भएको जानकारी सार्वजनिक गरिएको थियो। तर भग्नावशेष हटाउने क्रममा थप शव फेला परेपछि मृतकको संख्या उल्लेखनीय रूपमा बढेको इरानी समाचार एजेन्सी ‘फार्स’ले जनाएको छ।

advertisement

युद्धको असर छिमेकी मुलुकहरूमा पनि फैलिन थालेको छ। बहराइनको गृह मन्त्रालयले अमेरिकी नौसैनिक आधार शिविर रहेको जुफैर क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई तत्काल सुरक्षित स्थानतर्फ सार्न थालेको जनाएको छ। इरानले उक्त सैन्य आधारलाई लक्ष्य गरेर हमला गरेपछि आकाशमा बाक्लो धुवाँ देखिएको बताइएको छ।

प्रशासनले नागरिकहरूलाई सुरक्षाकर्मीको निर्देशन पालना गर्न र जोखिमपूर्ण क्षेत्र खाली गर्न आग्रह गरेको छ। खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरू इरानको निशानामा परेपछि बहराइनमा त्रास फैलिएको छ।

यसैबीच रुसले अमेरिका र इजरायललाई इरानमाथि भइरहेको आक्रमण तत्काल रोक्न चेतावनी दिएको छ। रुसी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै परिस्थिति थप जटिल बन्नुअघि राजनीतिक तथा कूटनीतिक उपायमार्फत समाधान खोज्न आग्रह गरेको छ।

रुसले अमेरिका र इजरायलको कदमलाई गैरजिम्मेवार भन्दै अन्तर्राष्ट्रिय समुदायलाई यसको निष्पक्ष मूल्याङ्कन गर्न पनि आह्वान गरेको छ। साथै अन्तर्राष्ट्रिय कानुन र आपसी सम्मानको आधारमा शान्तिपूर्ण समाधानका लागि आफू तयार रहेको स्पष्ट पारेको छ।

यस युद्धप्रति विश्वका अन्य मुलुकहरूले पनि चिन्ता व्यक्त गरेका छन्। नर्वेका विदेशमन्त्री एस्पेन बार्थले इजरायलले दाबी गरेको ‘पूर्व–सतर्कता’ आक्रमणको औचित्यमाथि प्रश्न उठाउँदै यसलाई अन्तर्राष्ट्रिय कानुनविपरीत भएको बताएका छन्।

त्यसैगरी बेल्जियमले इरानमा भइरहेको हिंसाको मूल्य निर्दोष नागरिकहरूले चुकाउनु परेको भन्दै दुःख व्यक्त गरेको छ। पाकिस्तानले पनि इरानमाथिको आक्रमणको कडा निन्दा गर्दै तत्काल युद्धविराम र कूटनीतिक वार्तामार्फत समाधान खोज्न आग्रह गरेको छ।

प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com