रौतहट। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण बनाउन रौतहट जिल्लाभर विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले आज जारी गरेको सूचनाअनुसार फागुन १७ गतेदेखि फागुन २१ गतेसम्मका लागि यो प्रतिबन्ध लागू हुनेछ । सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवद्वारा हस्ताक्षरित सूचनामा सीमावर्ती क्षेत्रबाट हुन सक्ने सम्भावित सुरक्षा चुनौती तथा अवाञ्छित गतिविधिलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको निर्णयअनुसार यो कदम चालिएको उल्लेख छ ।

advertisement

प्रशासनले निर्वाचन सुरक्षा योजनाअन्तर्गत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको तथा सुरक्षा व्यवस्थालाई थप कडा पारिएको जनाएको छ । यो प्रतिबन्धको उल्लंघन गर्नेलाई कानुनबमोजिम कारबाही गरिने पनि स्पष्ट पारिएको छ ।

रौतहट भारतसँग जोडिएको सीमावर्ती जिल्ला हो, जहाँ निर्वाचनको समयमा सीमापारबाट हुन सक्ने गतिविधि तथा अवैध आवागमन रोक्न यो प्रकारको प्रतिबन्ध लगाउनु सामान्य अभ्यास हो । यसले मतदान प्रक्रियालाई सुरक्षित र निष्पक्ष बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

फागुन २१ गते मतदान सम्पन्न भएपछि मात्र विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा खुला हुने प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com