काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुर्गा प्रसाईंलाई बिना शर्त रिहा गर्न सरकारसँग माग गरेको छ।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले प्रसाईंलाई पटक–पटक पक्राउ गरेर सरकारले अनावश्यक शक्ति प्रदर्शन गरिरहेको आरोप लगाएका छन्। उनले राज्यले एक व्यक्तिमाथि प्रतिशोधपूर्ण व्यवहार गरिरहेको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै श्रेष्ठले लोकतन्त्र, मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताको कुरा गर्नेहरूले समेत पक्षपातपूर्ण व्यवहार देखाएको बताएका छन्।
उनले लेखेका छन्, ‘दुर्गा प्रसाईंलाई पटक–पटक पक्राउ गरेर सरकारले चटक देखाइरहेको छ। एक व्यक्तिमाथि राज्यले साधेको प्रतिशोध र लोकतन्त्र, मानवअधिकार तथा अभिव्यक्ति स्वतन्त्रताको कुरा गर्नेहरूको यस्तो पक्षपातपूर्ण व्यवहार लाजमर्दो छ। तर उनीहरूलाई लज्जाबोध भएको देखिँदैन।’
श्रेष्ठले सरकारलाई लक्षित गर्दै प्रसाईंलाई तत्काल बिना शर्त रिहा गर्न आग्रह गरेका छन्।
प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया