काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले संयुक्त अरब इमिरेट्स (युएई) मा भएको पछिल्लो आक्रमणमा परी एक नेपाली श्रमिकको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले दिवंगत श्रमिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। साथै, युएई तथा द्वन्द्व प्रभावित क्षेत्रमा रहेका सम्पूर्ण नेपालीहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेका छन्।
थापाले द्वन्द्वग्रस्त तथा जोखिमपूर्ण क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षाका लागि आवश्यक सावधानी, समन्वय र तयारी अत्यन्त जरुरी रहेको उल्लेख गरेका छन्। उनले नेपाल सरकारको ध्यानाकर्षण गराउँदै कूटनीतिक पहललाई थप सक्रिय, प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गरेका छन्। विदेशमा रहेका नेपालीहरूको सुरक्षालाई प्राथमिकतामा राखेर तत्काल आवश्यक कदम चाल्न उनले सरकारसँग माग गरेका छन्।
यसैगरी, जनसम्पर्क समिति, गैर आवासीय नेपाली सङ्घ तथा समग्र नेपाली समुदायलाई अप्ठ्यारोमा परेका नेपालीहरूको पहिचान, सहयोग र आवश्यक समन्वयमा सक्रिय भूमिका खेल्न पनि उनले अनुरोध गरेका छन्।
यस घटनापछि युएईस्थित नेपाली समुदायमा चिन्ता बढेको छ भने सम्बन्धित सरोकारवालाहरूले विदेशमा रहेका नेपाली नागरिकहरूको सुरक्षाप्रति थप चासो व्यक्त गरेका छन्।
प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार












प्रतिक्रिया