सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा एकाध आमसभा भ्याएर आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा पुगिसकेका छन् । जेनजी आन्दोलनपछि कांग्रेसमा रुपान्तरण र नयाँ मुद्दा उठाएर विशेष महाधिवेशनबाट सभापति बनेका थापा अहिले मधेशका मतदातामाझ पुगेका छन् । काठमाडौं–४ बाट सिधै मधेश झर्दा स्थानीय भाषा तथा क्षेत्रीय मुद्दा प्रमुख चुनौती बनेका छन् ।

सिंगो देशको ध्यान सर्लाही–४ मा केन्द्रित भएको छ । थापा आफ्नो क्षेत्रमा डेरा जमाएर बसेका छन् । क्षेत्रबाट लगातार चुनाव जित्दै आएका डा. अमरेशकुमार सिंह (हाल रास्वपा) सँग उनको मुख्य प्रतिस्पर्धा छ । तर सिंहभन्दा शिवपूजन राय यादवका छोरा अमनिशकुमार यादव (नेकपा एमाले) गगन थापाका लागि ठूलो टाउको दुखाइ बनेका छन् ।

advertisement

शिवपूजनलाई यो क्षेत्रमा बलियो भोट बैंक भएका नेताका रूपमा हेरिन्छ । बजारमा उनको प्रभाव अझै १४ हजार मतसम्म रहेको हल्ला छ । यो क्षेत्रमा जित–हारको अन्तर २०–२५ हजार मतको आसपासमा रहने अनुमान गरिन्छ ।

सर्लाही–४ मा धनकौल गाउँपालिका, रामनगर गाउँपालिका, बलरा नगरपालिका, बरहथवा नगरपालिकाको वडा नं. १–४ र १३–१५, विष्णु गाउँपालिकाको वडा नं. १–४ तथा बसबरिया गाउँपालिकाको वडा नं. १–३ समेटिएका छन् । कुल १ लाख २५ हजार मतदाता रहेको यो क्षेत्रमा गगन थापालाई स्वतन्त्र तथा जसपाका उम्मेदवारहरूले पनि उत्तिकै चुनौती दिएका छन् ।

मधेश प्रदेश सांसद वीरेन्द्र सिंह आफैं यस क्षेत्रबाट २०७४ र २०७९ मा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । पहिलेदेखिकै कांग्रेसको संगठनात्मक भोट र पछिल्लो समय विभिन्न वडाका उम्मेदवार तथा वडाध्यक्षहरूको कांग्रेस प्रवेशले गगन थापालाई केही राहत मिलेको छ ।

बलरा नगरपालिकाका ११ वटा वडामध्ये ६ जना वडाध्यक्ष कांग्रेसबाट निर्वाचित छन् । गोडैता नगरपालिकामा वडा नं. ६ र ९ का वडाध्यक्ष कांग्रेसबाट जितेका छन् । बलरा वडा नं. १–२ मा माओवादीबाट र ११ मा एमालेबाट जितेका वडाध्यक्षहरू कांग्रेस प्रवेश गरिसकेका छन् । बलरा–७ र ८ का वडाध्यक्ष (जसपा) का उम्मेदवार तथा वडा नं. ४ मा एमालेबाट प्रतिस्पर्धी रहेका उम्मेदवार पनि कांग्रेसमा प्रवेश गरेका छन् ।

रामनगर गाउँपालिकामा शिवपूजन यादवका छोरा गाउँपालिका अध्यक्ष छन्, तर स्थानीय तह चुनावमा डा. अमरेशकुमार सिंहको तर्फबाट अध्यक्षका उम्मेदवार बनेका राहुल बर्माको नेतृत्वमा थुप्रै कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् ।

क्षेत्रमा विष्णु गाउँपालिकाको ४, गोडैता नगरपालिकाको १२, बलरा नगरपालिकाको ११, रामनगर गाउँपालिकाको ७, धनकौल गाउँपालिकाको ७, बसबरिया गाउँपालिकाको ३ र बरहथवा नगरपालिकाको ७ गरी कुल ५१ वटा वडा पर्छन् ।

२०७९ को स्थानीय चुनावमा विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादव कांग्रेसबाट निर्वाचित भएका थिए । गोडैता नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादव पूर्व लोसपाबाट निर्वाचित भएर हाल जसपामा आबद्ध छन् । बलरा नगरपालिकाका प्रमुख रामशंकरप्रसाद कुशवाहा माओवादीबाट निर्वाचित भएर हाल नेकपामा छन् । रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादव शिवपूजन यादवका छोरा हुन् । शिवपूजनकै अर्का छोरा अमनिशकुमार यादव एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह कांग्रेसबाट जितेका हुन् । बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन राय जसपामा छन् ।

अर्कोतर्फ रास्वपाबाट उम्मेदवारी दिएका डा. अमरेशकुमार सिंहले मधेशका छोरा बालेनको नेतृत्वमा सरकार बन्ने कुरा भएकाले आफ्नो जीत सुनिश्चित रहेको बताउँदै हिँडेका छन् । सिंहले २०७० (संविधानसभा), २०७४ र २०७९ मा लगातार तीनपटक चुनाव जितिसकेका छन् । २०७९ मा कांग्रेसको बागी उम्मेदवारका रूपमा स्वतन्त्र उठेर जितेका थिए ।

२०७९ मा सिंहले २० हजार १७ मत ल्याएर जित्दा कांग्रेसका नागेन्द्रकुमार यादवले १८ हजार २५३, शिवपूजन यादवकी छोरी मधुमालाकुमारी यादवले १४ हजार ६२२ मत ल्याएकी थिइन् । यसपटक रास्वपाको पार्टी संगठन र समर्थन आफ्नो पक्षमा रहेकाले सिंह ढुक्क छन् ।

सर्लाही–४ लाई कांग्रेसको परम्परागत गढ मानिन्छ । २०४८ देखि २०५६ सम्म भएका तीन निर्वाचन जितेका महन्थ ठाकुरले कांग्रेस छाडेसँगै यो क्षेत्रमा अमरेशकुमार सिंह लड्दै आएका थिए ।

कांग्रेस सभापति गगन थापाको उम्मेदवारीपछि सर्लाही–४ चुनावी मैदानको प्रमुख ‘हटस्पट’ बनेको छ । उपसभापति विश्वप्रकाश शर्माले थापालाई मधेशप्रतिको सम्मानका रूपमा प्रस्तुत गर्दै भनेका थिए, “मधेशबाट उम्मेदवार बनाउनु भनेको मधेश र मधेशका मतदाताप्रति कांग्रेसको सम्मान हो, मधेशको माटोबाट विजयी गराएर सिंगो देशको भावनालाई सही ढंगले नेतृत्व गर्ने संकल्प पनि हो ।”

क्षेत्रमा कांग्रेसको संगठनात्मक बलियो आधार रहेकाले गगन थापालाई केही फाइदा पुगेको देखिन्छ । तर शिवपूजन यादवका छोरा अमनिशकुमार यादव (एमाले) र अमरेशकुमार सिंह (रास्वपा) को बलियो प्रभावका कारण चुनावी प्रतिस्पर्धा निकै कडा बनेको छ ।

प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com