सर्लाही। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाही जिल्लाका नेपाल-भारत सीमा नाका आज (फागुन १८ गते) राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म पूर्ण रूपमा बन्द हुने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार यो अवधिमा अत्यावश्यक सेवा, सुरक्षा निकायको समन्वय तथा निर्वाचन प्रयोजनबाहेक अन्य कुनै पनि आवतजावत तथा गतिविधिमा पूर्ण निषेध गरिएको छ । गत बुधबार बसेको जिल्ला सुरक्षा समिति सर्लाहीको बैठकले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाका अनुसार सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न तथा शान्ति-सुरक्षा सुदृढ बनाउन सीमा क्षेत्रमा विशेष निगरानी र चेकजाँच बढाइने छ । सीमावर्ती क्षेत्रबाट हुन सक्ने अवाञ्छित गतिविधि रोक्न यो कदम चालिएको प्रशासनले जनाएको छ ।
यो प्रतिबन्धको उल्लंघन गर्नेलाई कानुनबमोजिम कारबाही गरिने पनि प्रमुख जिल्ला अधिकारी कडरियाले स्पष्ट पारेका छन् । सर्लाही भारतसँग लामो सीमा जोडिएको जिल्ला भएकाले निर्वाचनको समयमा सीमापारबाट हुन सक्ने प्रभावलाई रोक्न यो व्यवस्था अपनाइएको हो ।
मतदान सम्पन्न भएपछि मात्र सीमा नाका खुला हुने प्रशासनले जनाएको छ । निर्वाचनलाई सुरक्षित र निष्पक्ष बनाउन स्थानीय प्रशासन तथा सुरक्षा निकायहरू उच्च सतर्कतामा रहेका छन् ।
प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया