काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि शनिबार गरिएको आक्रमणपछि विकसित घटनाक्रममा थप अमेरिकी सैनिक मारिन सक्ने बताएका छन् ।

द न्युयोर्क टाइम्ससँग कुराकानीमा ट्रम्पले प्रारम्भिक विवरणमा तीन जना अमेरिकी सैनिक मारिएको आकलन भए पनि मृतकको संख्या त्योभन्दा बढी हुन सक्ने बताए । उनले भने, तीन जना मारिनु पनि धेरै हो । तर प्रक्षेपणहरू हेर्दा संख्या त्योभन्दा बढ्न सक्छ ।

advertisement

यसअघि अमेरिकी टेलिभिजन नेटवर्क सीएनएनले तेहरानमा हमलापछि इरानले मध्यपूर्वका विभिन्न देशहरूमा रहेका अमेरिकी सैन्य अड्डाहरूमाथि जवाफी हमला गर्दा तीन जना अमेरिकी सैनिक मारिएको जनाएको थियो । ती तीन जना आइतबार बिहान इरानले कुवेतस्थित अमेरिकी सैन्य अड्डामा गरेको हमलामा मारिएको भनिएको छ ।

इरानले मध्यपूर्वका ८ भन्दा बढी देशहरूमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै लगातार हवाई तथा मिसाइल हमला गरिरहेको छ । यसकारण मारिने अमेरिकी सैनिकको संख्या थप बढ्न सक्ने ट्रम्पको भनाइ छ ।

यसैबीच अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले इरानविरुद्धको सैन्य कारबाहीबारे सोमबार पत्रकार सम्मेलन गर्ने भएको छ । स्थानीय समयअनुसार बिहान ८ बजे पेन्टागनले आक्रमण तथा जवाफी हमलाबारे विस्तृत जानकारी दिने कार्यक्रम तय भएको छ ।

यो घटनाक्रमले मध्यपूर्वमा तनाव चरममा पु¥याएको छ । खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूमाथि इरानको सघन हमला जारी रहँदा लाखौं नेपाली श्रमिकहरू कार्यरत यूएई, कतार, बहराइन, कुवेत लगायतका देशहरूमा पनि सुरक्षा जोखिम बढेको छ । नेपाल सरकारले इजरायल तथा इरानमा रहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन तथा अनावश्यक यात्रा नगर्न यसअघि नै एडभाइजरी जारी गरिसकेको छ ।

प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com