एजेन्सी । इरानमाथि शनिबार गरिएको अमेरिकी आक्रमणपछिको पछिल्लो घटनाक्रमबारे टिप्पणी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिक हताहतीको संख्या प्रारम्भिक अनुमानभन्दा बढी हुन सक्ने संकेत दिएका छन्।
अमेरिकी पत्रिका द न्युयोर्क टाइम्ससँगको कुराकानीमा ट्रम्पले सुरुमा तीन जना सैनिकको मृत्यु भएको जानकारी आएको भए पनि वास्तविक संख्या अझ बढ्न सक्ने बताएका हुन्। उनले भने, ‘तीन जनाको मृत्यु पनि दुःखद हो, तर प्राप्त सूचनाहरूका आधारमा मृतकको संख्या अझै बढ्न सक्ने देखिन्छ।’
यसअघि अमेरिकी टेलिभिजन सञ्जाल सिएनएनले तेहरानमा भएको हमलापछि इरानले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै गरेको आक्रमणमा तीन अमेरिकी सैनिक मारिएको जनाएको थियो। ती सैनिकहरू आइतबार बिहान कुवेतस्थित अमेरिकी सैन्य अड्डामा इरानले गरेको हमलामा मारिएको बताइएको छ।
इरानले मध्यपूर्वका आठभन्दा बढी देशमा अवस्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाउँदै निरन्तर हवाई आक्रमण गरिरहेको बताइएको छ। यही कारणले हताहतीको संख्या थप बढ्न सक्ने आशंका गरिएको छ।
यसबीच, अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले इरानविरुद्धको सैन्य कारबाहीबारे थप विवरण सार्वजनिक गर्न सोमबार पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ। स्थानीय समयअनुसार बिहान ८ बजे पेन्टागनले आक्रमणसँग सम्बन्धित विस्तृत जानकारी दिने जनाएको छ।
प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया