काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले इरानमाथि अमेरिका र इजरायलले गरेको संयुक्त सैन्य आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्।
प्रेस विज्ञप्ति जारी गर्दै उनले उक्त आक्रमणलाई मानव अधिकार, अन्तर्राष्ट्रिय कानुन र राष्ट्रहरूको सार्वभौमसत्तामाथिको गम्भीर प्रहारका रूपमा व्याख्या गरेका छन्। आक्रमणका क्रममा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी तथा अन्य उच्च अधिकारीहरूको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै खनालले यसलाई ‘निर्मम हत्या’ को संज्ञा दिएका छन्।
उनले भनेका छन्, ‘यो घटना मानव अधिकारको ठाडो उल्लंघन, मानवीय विवेकको पूर्ण परित्याग र अन्तर्राष्ट्रिय कानुनको खुला उल्लंघन हो। एक सार्वभौम राष्ट्रका सर्वोच्च नेताको हत्या गर्नु अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत सिद्धान्त र संयुक्त राष्ट्रसंघको बडापत्रमाथि ठाडो चुनौती हो।’
खनालका अनुसार अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनमा गरिएको उक्त संयुक्त आक्रमणले विश्वलाई असाधारण रूपमा ‘जंगली राज’तर्फ धकेल्ने दुस्साहस गरेको छ। उनले यस कदमले विशेषगरी साना तथा विकासोन्मुख राष्ट्रहरूको स्वतन्त्रता, स्वाभिमान र सार्वभौमसत्तामाथि अभूतपूर्व खतरा सिर्जना गरेको टिप्पणी गरेका छन्।
उनले विश्व समुदायलाई यस्तो प्रकारको ‘साम्राज्यवादी र गैरकानुनी’ आक्रमणविरुद्ध एकताबद्ध हुन आह्वान गर्दै अब विश्व शक्तिहरू, मझौला र साना राष्ट्रहरू मौन बस्न नहुने बताएका छन्। “यस प्रकारको कठोर र हिंस्रक कदमविरुद्ध अन्तर्राष्ट्रिय समुदाय एकजुट हुनुपर्छ,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।
प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया