काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत खसाल्न काठमाडौं उपत्यका छाड्ने यात्रुको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ । यातायात व्यवसायी तथा ट्राफिक प्रहरीका अनुसार निर्वाचनका लागि ठूलो सङ्ख्यामा मतदाता बाहिरिसकेका छन् र यो क्रम अझै जारी छ ।
यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाका अनुसार निर्वाचनको समयमा उपत्यकाबाट बाहिरिने क्रम विगतका निर्वाचनभन्दा बढी छ । होली पर्वसँगै चार–पाँच दिनको सार्वजनिक विदा परेकाले यो सङ्ख्यामा थप वृद्धि हुने अपेक्षा गरिएको छ । उनले भने, “टिकटहरू धेरै नै बुकिङ भएका छन् । ९ गतेदेखि निर्वाचनका लागि जाने मानिसहरूको चाप बढेको छ । बुधबार बिहान १२ बजेसम्म करिब ८–९ लाख मानिस बाहिरिसक्ने अनुमान छ । ठ्याक्कै रेकर्ड अहिले सबै ठाउँबाट प्राप्त भएको छैन । निर्वाचनको चाप बढेको छ । साथै विदा र होली पर्वको अवसरले गर्दा तराईतिरका पनि धेरै मतदाता जानेछन् ।”
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले उपत्यकाबाट अहिलेसम्म निर्वाचनका लागि करिब ७ लाख मानिस बाहिरिएको जानकारी दिए । उनले भने, “अहिलेसम्म निर्वाचनका लागि करिब ७ लाख मानिस बाहिरिएका छन् । तर बाहिरिने क्रम अझै जारी छ । हामीले काठमाडौं उपत्यकामा यातायातको निगरानी कडा बनाएका छौं र मतदाताको आवतजावतका लागि सबै प्रकारको सुरक्षा व्यवस्था मिलाएका छौं ।”
आगामी दुई दिनमा ८–९ लाख मानिस मतदाता बाहिरिने यो क्रम निर्वाचनको तयारीको संकेत पनि मानिन्छ । धेरै मानिसले घर–गाउँ फर्केर आफ्नो मतदान अधिकार प्रयोग गर्ने भएकाले प्रशासन र यातायात व्यवसायीहरू दुवै सतर्क रहेका छन् ।
यो सङ्ख्या बढ्नुमा होली पर्व, लामो विदा तथा मतदानका लागि घर फर्किने मुख्य कारण रहेको बताइएको छ । यातायात क्षेत्रले पनि यो अवधिमा उच्च चाप बेहोर्नुपरेको र टिकट बुकिङमा उल्लेखनीय वृद्धि भएको जनाएको छ ।
प्रशासनले मतदाताको सुरक्षित आवागमनका लागि आवश्यक व्यवस्था मिलाएको तथा ट्राफिक प्रहरीले निगरानी बढाएको बताएको छ ।
प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया