सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई सर्लाही–४ को सेवकको रूपमा प्रस्तुत गर्दै आगामी ५ वर्ष यो क्षेत्रको विकास र जनताको सेवामा समर्पित रहने वचन दिएका छन् । थापाले क्षेत्रमा एउटा सांसदको कार्यालय स्थापना गर्ने तथा युवाहरूको अभिभावक बन्ने घोषणा गरेका छन् ।

सर्लाही–४ मा रहेर मतदातासँगको प्रत्यक्ष कुराकानीमा थापाले भने, “मैले यहाँ एउटा सांसदको कार्यालय स्थापना गर्छु । त्यस्तै कार्यालय काठमाडौंमा हुन्छ । यो कार्यालय सबैको लागि सधैं खुल्ला रहन्छ । यो कार्यालयमा मसँग सम्बन्ध राख्नका निम्ति बिचमा अरू कोही पनि नेता चाहिँदैन । मसँग मेरो मतदाताको प्रत्यक्ष सम्बन्ध र सम्पर्क हुन्छ । महिनामा एकपटक अनिवार्य रूपमा दुई दिनको लागि त्यो कार्यालयमा जनताको दरबार लाग्छ । जहाँ सबैले आएर आफ्ना विषयहरू खुल्ला रूपमा राख्नुहुन्छ ।”

advertisement

उनले क्षेत्रका जनतालाई कहिल्यै धोका नदिने तथा शीर निहुरिने काम नगर्ने प्रतिबद्धता व्यक्त गरे । थापाले भने, “मबाट बेइमानी हुँदैन । मबाट तपाईंहरूलाई कुनै धोकाधडी हुँदैन । मैले पूर्वाधारको जति पनि कामहरू जिम्मा लिएको छु, ती सबै कामहरू मैले हात हालेको कामहरू मैले सम्पन्न गराएर छाड्छु । यहाँको विद्यालयको अवस्था अब यस्तो रहँदैन । यहाँको स्वास्थ्य चौकीको अवस्था अब यस्तो रहँदैन ।”

उनले क्षेत्रका दलित तथा विपन्न समुदायको बस्ती भ्रमण गर्दा देखिएको अवस्थाबाट दुःख लागेको बताउँदै भने, “मैले यहाँ दलितको बस्ती हेरेँ । मैले अरू पनि थुप्रै विपन्न समुदायहरूको बस्ती हेरेँ । मलाई बडो दुःख लागेको छ । अहिले पनि मानिसहरू यस्तो घरमा बसिरहेका छन् भन्ने मलाई अनुमान पनि थिएन ।”

थापाले आफूलाई मधेश र काठमाडौं जोड्ने सेतुको रूपमा प्रस्तुत गर्दै भनेका छन् कि उनी मधेशको भावना बुझेर र काठमाडौंको दृष्टिकोणबाट काम गर्नेछन् । उनले युवाहरूलाई विशेष ध्यान दिने तथा उनीहरूको अभिभावक बन्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

सर्लाही–४ मा थापाको उम्मेदवारीपछि यो क्षेत्र चुनावी मैदानको प्रमुख केन्द्रबिन्दु बनेको छ । क्षेत्रमा कांग्रेसको परम्परागत प्रभाव रहेकाले थापालाई केही फाइदा पुगेको देखिन्छ । तर एमालेका अमनिशकुमार यादव तथा रास्वपाका डा. अमरेशकुमार सिंहसँगको प्रतिस्पर्धा कडा बनेको छ । थापाले आफ्नो कार्यशैलीमार्फत जनतासँग प्रत्यक्ष सम्बन्ध कायम राख्ने तथा विकासका कामलाई प्राथमिकता दिने वाचा गरेका छन् ।

फागुन २१ गते हुने निर्वाचनमा थापाको यो प्रतिबद्धतालाई मतदाताले कसरी ग्रहण गर्छन् भन्ने हेर्न बाँकी छ ।

प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com