काठमाडाैं । गगन थापाले आगामी पाँच वर्ष सर्लाही–४ का जनताको सेवकका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सर्लाही–४ मा आयोजित भेटघाट कार्यक्रममा उनले सो क्षेत्रमा सांसदको कार्यालय स्थापना गर्ने घोषणा गरेका हुन्।
थापाले आफू मधेश र काठमाडौं जोड्ने लक्ष्यसहित सर्लाहीबाट चुनाव लडेको उल्लेख गर्दै क्षेत्रका जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने बताए। उनले भने, “मैले यहाँ एउटा सांसदको कार्यालय स्थापना गर्छु। त्यस्तै कार्यालय काठमाडौंमा पनि हुन्छ। यो कार्यालय सबैका लागि सधैं खुला रहनेछ। मसँग सम्बन्ध राख्नका लागि बीचमा अरू कुनै नेता चाहिँदैन। मेरो मतदातासँग प्रत्यक्ष सम्बन्ध र सम्पर्क हुनेछ। महिनामा एकपटक अनिवार्य रूपमा दुई दिन जनताको दरबार लाग्नेछ, जहाँ सबैले आफ्ना विषय खुला रूपमा राख्न सक्नुहुन्छ।”
उनले क्षेत्रका जनतालाई कहिल्यै धोका नदिने र शीर निहुरिने काम नगर्ने वाचा गरे। “मबाट बेइमानी हुँदैन। तपाईंहरूलाई कुनै धोकाधडी हुँदैन। मैले जिम्मा लिएका पूर्वाधारका सबै काम सम्पन्न गरेरै छाड्छु,” उनले भने।
थापाले सर्लाही–४ का विद्यालय, स्वास्थ्य चौकी तथा दलित र विपन्न समुदायका बस्तीहरूको अवस्था सुधार गर्ने प्रतिबद्धता जनाए। क्षेत्रको अवस्था अवलोकन गर्दा आफूलाई निकै दुःख लागेको उल्लेख गर्दै उनले अब यस्तो अवस्था कायम नरहने दाबी गरे।
प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार










प्रतिक्रिया