सल्यान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बनगाड कुपिण्डे नगरपालिकामा मदिरा र चामलजन्य सामग्री सहित नियन्त्रणमा लिएको गाडीमा पार्टीको कुनै संलग्नता नभएको स्पष्ट पारेको छ।

सोमबार बनगाड कुपिण्डे नगर समितिका सभापति लोकेन्द्र वलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि गाडीका मालिकले व्यक्तिगत प्रयोजन वा स्थानीय व्यवसायीको सहयोगका लागि सामान ढुवानी गरेको बताएका छन्।

advertisement

विज्ञप्तिमा भनिएको छ, ‘चुनावको समयमा प्रयोग भएको उक्त गाडीको चालकले ढुवानी खर्च प्राप्त गरी व्यक्तिगत वा स्थानीय व्यवसायीको सहयोगार्थ मात्र सामग्री ढुवानी गरेको हो। यसमा हाम्रो पार्टीको कुनै संलग्नता छैन। घटनाको वास्तविकता छानबिन गर्न प्रशासनलाई सहयोग गर्न रास्वपा बनगाड नगर समिति सदैव तत्पर छ।’

सभापति वलीले रास्वपाको झण्डा प्रयोग भए पनि गाडी प्रचारका लागि प्रयोग गरिएको र मदिरा–चामल वितरण गरेको खबर गलत भएको स्पष्ट पारेका छन्।

सोमबार बिहान पौने १० बजे बनगाड–कुपिण्डे नगरपालिका–१, सल्लीबजारमा कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको गाडीमा दुई बोरा चामल, २१० बोत्तल मदिरा, दुई कार्टुन बियर र तीन कार्टुन खाने तेल फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार, गाडी चालक सिद्धकुमाख–४ का २४ वर्षीय चन्द्रप्रकाश बुढाथोकी र सोही गाडीमा सवार बनगाड कुपिण्डे–१ का ३७ वर्षीय मोहन बिसीलाई नियन्त्रणमा लिइएको थियो। चालक बुढाथोकीले उक्त सामान बिसीको रहेकाले बनगाड कुपिण्डे–५ खैरागार तर्फ लैजानका लागि राखेको बयान दिएका छन्।

यसअघि शनिबार राति मोरङमा पनि प्रहरीले कांग्रेसको प्रचारमा प्रयोग भएको गाडी नियन्त्रणमा लिएको थियो। सो गाडीमा करिब साढे चार लाख नगद र चुनावी पर्चा फेला परेको थियो।

 

प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com