तेहरान। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) को गुप्तचर इकाईले नागरिकलाई सडक प्रदर्शनमा सहभागी नहुन कडा चेतावनी दिएको छ । बीबीसीले इरानभित्रबाट प्राप्त दुईवटा सन्देशका स्क्रिन सट सार्वजनिक गर्दै यो खबर छापेको छ ।
सन्देशहरूमा सम्भावित प्रदर्शनलाई “शत्रुको योजनाबद्ध सडक दङ्गा” भनेर उल्लेख गरिएको छ । साथै सुरक्षा अव्यवस्था गराउने कुनै पनि गतिविधि शत्रुसँगको प्रत्यक्ष सहकार्य मानिने र त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिइएको छ । अर्को सन्देशमा आईआरजीसीले नागरिकलाई कुनै पनि विरोधी वा सुरक्षा विरोधी गतिविधि देखेमा तुरुन्त फोन गरेर जानकारी दिन आग्रह गरेको छ ।
आयातोल्लाह अली खामेनीको निधनपछि देशका विभिन्न सहरहरूमा सडकमा भेला भई उत्सव मनाइएको दृश्यहरू आफूले पुष्टि गरेको बीबीसीले जनाएको छ । इरानी सरकारी तथा स्थानीय सञ्चारमाध्यमहरूले भने तेहरान लगायतका सहरमा शोकसभा भइरहेको खबर दिएका छन् ।
इरानका अधिकांश नागरिकका लागि इन्टरनेट सेवा अझै अवरुद्ध रहेकाले देशभित्रको वास्तविक अवस्था स्पष्ट रूपमा बुझ्न कठिन भइरहेको छ । केही व्यक्तिहरू भने स्याटेलाइट इन्टरनेट सेवा स्टारलिङ्कजस्ता माध्यम प्रयोग गरेर अनलाइनमा पहुँच बनाएका छन् ।
खामेनीको निधनपछि इरानमा संक्रमणकालीन नेतृत्व परिषद् गठन गरिएको छ भने नयाँ सर्वोच्च नेता चयन गर्ने प्रक्रिया सुरु भएको छ । यो अवस्थामा आईआरजीसीको चेतावनीले आन्तरिक विरोध प्रदर्शनलाई दबाउने प्रयासका रूपमा हेरिएको छ । मध्यपूर्वमा तनाव चर्किँदै गएको बेला यो घटनाले स्थिति झन् जटिल बनाएको छ ।
प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया