काठमाडौं । रामेछापमा निर्वाचन सामग्री बोकेको सवारी दुर्घटनामा एक प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
सोमबार रामेछाप नगरपालिका–२ को सिरुबारी क्षेत्रमा भएको दुर्घटनामा प्रहरी सहायक निरीक्षक पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको हो।
मन्थलीबाट कालीकादेवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा निर्वाचन सामग्री तथा कर्मचारी लिएर जाँदै गरेको गाडी सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाका बेला गाडीमा कुल ११ जना सवार रहेका थिए। उनीहरूमध्ये तीन जना भने दुर्घटनाअघि नै गाडीबाट हाम फालेका थिए।
दुर्घटनामा परेका सात जनालाई चोटपटक लागेको छ। घटनापछि सशस्त्र प्रहरी बल नेपाल विपद् उद्धार बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक रमेशबहादुर थापाको नेतृत्वमा गोताखोर तथा विपद् व्यवस्थापन तालिमप्राप्त टोली उद्धार कार्यमा खटिएको थियो।
उद्धारपछि घाइतेहरूलाई उपचारका लागि मन्थली अस्पताल पठाइएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।
प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया