काठमाडौं। काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा रातभर प्रहरीले घेराबन्दी गरी सुरक्षा दिएको शङ्कास्पद बस्तु नेपाली सेनाले निष्क्रिय पार्दा त्यसभित्र इट्टाको टुक्रा र सलाईका काँटी मात्र भेटिएको छ ।
चपलीस्थित मसला फ्याक्ट्रीबाट चुनीखेल जाने सडकमा कागजले पोको पारेर प्रेसर कुकरमा तार जोडिएको अवस्थामा भेटिएको उक्त बस्तुबारे स्थानीयले जानकारी गराएपछि रातभरि प्रहरीले सो क्षेत्रमा आवतजावत रोकेर सुरक्षा दिएको थियो । आज बिहान सेनाको विस्फोटक व्यवस्थापन टोली (बम डिस्पोजल टोली) ले बस्तुलाई सुरक्षित रूपमा निष्क्रिय बनाएको हो ।
निष्क्रिय पार्ने क्रममा प्रेसर कुकर खोल्दा भित्र इट्टाको टुक्रा र सलाईका काँटीहरू मात्र फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । उनले भने, “यो कुनै विस्फोटक पदार्थ थिएन । शङ्कास्पद देखिएपछि सतर्कता अपनाइएको थियो । अब क्षेत्र खुला गरिएको छ ।”
घटनास्थलमा रातभर प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो । बस्तु भेटिएको सूचना आएपछि तत्काल प्रहरी परिचालन गरी क्षेत्र घेराबन्दी गरिएको र स्थानीयलाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ ।
यो घटनाले स्थानीयवासीमा केही त्रास पैदा गरेको थियो । प्रहरीले यस्ता शङ्कास्पद वस्तु भेटिएमा तत्काल सूचना दिन स्थानीयवासीलाई आग्रह गरेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा यस्ता घटनाले सुरक्षा चुनौती थपेको प्रहरीको भनाइ छ ।
अनुसन्धानमा कसैको संलग्नता देखिएमा थप कारबाही अघि बढाइने प्रहरीले जनाएको छ । अहिले क्षेत्र सामान्य अवस्थामा फर्किएको छ ।
प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया