सिराहा । प्रतिनिधिसभा निर्वाचनको मौन अवधिमा रकमसहित पक्राउ परेका जनता समाजवादी पार्टी (जसपा) का सिराहा–३ का उम्मेदवार अशेश्वर यादवसहित पाँच जनालाई निर्वाचन अधिकृतले तीन दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएका छन्।
सिराहा मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीका अनुसार, ‘हामीले सबै कागजातहरूको अध्ययन गरिसकेका छौँ। तत्कालका लागि तीन दिनभित्र स्पष्टीकरण बुझाउन मौका दिएका छौँ। उनीहरूले दिएको स्पष्टीकरण र प्रमाणहरूको आधारमा थप कानुनी प्रक्रिया अघि बढाइनेछ।’
प्रहरीले यादवलाई गएराति मौन अवधिमा नियन्त्रणमा लिएको थियो। नेपाल–भारत सीमा क्षेत्र माडरबाट सिराहा सदरमुकामतर्फ आउँदै गरेको प्र.२–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीमा संयुक्त चेकजाँचका क्रममा ४ लाख ८७ हजार रुपैयाँसहित उनी नियन्त्रणमा परेका थिए।
यसै समूहमा विष्णुपुर–५ का ३२ वर्षीय श्यामकुमार यादव, ३५ वर्षीय रामप्रवेश यादव, ४० वर्षीय बप्रेन्द्रकुमार यादव र सवारी चालक नरहा–३ का २८ वर्षीय जितेन्द्रकुमार महतो पनि समावेश थिए। पक्राउ परेका सबैलाई तत्काल छोडिएको र बरामद रकम र सवारीसहितका सामग्री सिज गरिएको अधिकारीहरूले जानकारी दिएका छन्।
आचारसंहिताअनुसार, मौन अवधिमा राजनीतिक दल वा उम्मेदवारले आर्थिक लेनदेन गर्नु कानूनविपरीत मानिन्छ। निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३० को उपदफा (१) र (२) बमोजिम जरिवाना वा ६ वर्षसम्म कुनै निर्वाचनमा उम्मेदवार हुन अयोग्य घोषणा गर्न सकिने व्यवस्था आयोगले गरेको छ।
यस घटनापछि आयोगले स्पष्टीकरण र प्रमाणको आधारमा आवश्यक कानुनी कारबाही अघि बढाउने जनाएको छ।
प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार











प्रतिक्रिया