काठमाडौं । रूपन्देही २ का रास्वपा उम्मेदवार सुलभ खरेल र उनको सचिवालयमा आक्रमण भएको छ । खरेलको सचिवालयमै पुगेर अज्ञात समूहले केहीबेर अघि आक्रमण गरेको हो ।
बुटवल बसपार्क नजिकै रहेको होटल नमोबुद्धमा रहेको उनको सचिवालयमा प्रवेश गरेर अज्ञात समूहले उम्मेदवार खरेल र सचिवालयमा रहेका रास्वपा नेता तथा कार्यकर्तामाथि कुटपिट गरेको उम्मेदवार खरेलले सिधाकुरालाई बताए ।
हेलमेट लगाएर आएका १५ /२० जनाको समूहले आक्रमण गरे । चार जना साथीहरुमाथि आक्रमण भएको छ, खरेलले सिधाकुरासँग भने, मलाई सचिवालयका साथीहरूले सुरक्षित ठाउँमा पुर्याएका छन् ।
खरेलसँगै रहेका रास्वपा स्थानीय नेता पोशन पाण्डेकाअनुसार होटलमा बुझ्न भनेर छिरेका उनीहरूले हेलमेट तथा प्रहरीको लट्ठी खोसेर कुटपिटमा उत्रिएका हुन् । कुटपिट गर्ने समूहमा एमालेका युवा नेता बाबुराम पन्थी लगायत रहेको पनि उनले बताए ।
कुटपिटबाट ४ जना घाइते भएको पनि पाण्डेले जानकारी दिए । उक्त्र समूहको कुटिपटबाट सैनामैना नगरपालिकाका पूर्वमेयर चित्रबहादुर कार्की घाइते भएका छन् । अहिले प्रहरीले सो घटनाको अनुसन्धान अघि बढाएको छ ।
रूपन्देहीका प्रहरी प्रमुख जनक बहादुर शाहीले सिधाकुरासँग कुरा गर्दै उम्मेदवारमाथि आक्रमण नभएको र अन्य घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए । यो क्षेत्रमा एमालेका उपाध्यक्ष विष्णु पौडेल र रास्वपाका खरेल मुख्य प्रतिस्पर्धामा छन् ।
प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया