काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर मतदान हुँदैछ। मुलुकका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान सञ्चालन हुनेछ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि प्रतिनिधिसभाका लागि हुने यो तेस्रो निर्वाचन हो।
आज ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष) अन्तर्गत १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० सिटका लागि मतदान हुँदैछ। प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्न लिएर ६५ राजनीतिक दल चुनावी प्रतिस्पर्धामा छन्।
प्रत्यक्ष प्रणालीतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी कुल तीन हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। त्यस्तै समानुपातिक प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार छन्।
यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्। साथै एक लाख ८६ हजार १४२ अस्थायी मतदाता पनि कायम गरिएको निर्वाचन आयोग ले जनाएको छ।
निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन् भने १४३ अस्थायी मतदानस्थल पनि व्यवस्था गरिएको छ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवती महिलालाई सहज रूपमा मतदान गर्न प्राथमिकता दिने व्यवस्था गरिएको आयोगले जनाएको छ।
निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ जना नेपाली सेना, ७५ हजार ७९७ जना नेपाल प्रहरी, ३४ हजार ५६७ जना सशस्त्र प्रहरी बल, एक हजार ९२१ जना राष्ट्रिय अनुसन्धान विभाग तथा एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी खटिएका छन्।
निर्वाचन सञ्चालनका लागि दुई लाख १५ हजार कर्मचारी परिचालन गरिएका छन्। आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरी सम्बन्धित मतदान केन्द्रमा पु¥याइसकेको जनाएको छ।
यसपटकको निर्वाचनमा चार अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्थाले पर्यवेक्षण गर्नेछन्। राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायतले सबै मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन आह्वान गरेका छन्।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया