काठमाडौं। इरानको इस्लामिक शासन ढाल्न अमेरिका र इजरायलले इरानभित्रका विभिन्न कुर्द समूहलाई हतियार उपलब्ध गराएर स्थलगत आक्रमण गराउने तयारी गरेको खुलासा भएको छ । अमेरिकी अनलाइन मिडिया एक्सियोसले यो जानकारी सार्वजनिक गरेको हो ।

शनिबार अमेरिका र इजरायलले इरानमाथि संयुक्त सैन्य आक्रमण गरेपछि मध्यपूर्वमा युद्ध सुरु भएको छ । आक्रमणको सुरुवातमै सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित दर्जनौं वरिष्ठ सैन्य तथा राजनीतिक अधिकारी मारिएका थिए । त्यसयता अमेरिका र इजरायलले लगातार हवाई आक्रमण गरिरहेका छन् । तर हवाई आक्रमणले मात्र शासन नढलेपछि अब कुर्द समूहलाई प्रयोग गरेर स्थलगत हमला गराउने योजना अघि बढाइएको बताइएको छ ।

advertisement

अमेरिकी गुप्तचर संस्था सिआइए र इजरायलको मोसादले हतियार दिएर इरानको उत्तर-पश्चिमी भागमा कुर्द विद्रोहीहरूलाई आक्रमण गराउने तयारी गरेको एक्सियोसको रिपोर्ट छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रत्यक्ष अमेरिकी सेना पठाउँदा आन्तरिक विरोध र सैनिक हताहतको जोखिम बढ्ने भएकाले कुर्द मिलिसियालाई प्रयोग गर्न राजी भएको मानिन्छ ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले भने अमेरिकाले कुर्द मिलिसियाको आक्रमणलाई समर्थन गर्ने कुनै योजनामा सहमति नजनाएको दाबी गरेकी छन् । तर पछिल्ला दिनमा विभिन्न अमेरिकी मिडियाले अमेरिका र इजरायलले मिलेर कुर्द समूहलाई हतियार उपलब्ध गराउने तथा प्रशिक्षण दिने योजना बनाइरहेको लेखेका छन् ।

ट्रम्पले इरानमाथि आक्रमण गरेको भोलिपल्ट आइतबार नै इराकमा रहेका कुर्द नेताहरूसँग फोनमा कुरा गरेको रिपोर्टहरूमा उल्लेख छ । शिया बहुल इरान र इराक दुवै देशमा कुर्दहरू अल्पसंख्यक छन् । इरानी शासकबाट जोगिन धेरै कुर्द विद्रोहीहरू इराकमा शरण लिएका छन् ।

विगतमा इराकमा रहेका कुर्दहरूले अमेरिकी सेनासँग सहकार्य गरेका थिए । अहिले इरानबाट भागेर इराक गएका कुर्दहरूलाई हतियार दिएर अमेरिका र इजरायलले इरानमा आक्रमण गराउन लागेको दाबी गरिएको छ । इराकी कुर्दहरू पनि त्यस्तो हमलामा सामेल हुन सक्ने सम्भावना छ ।

इरानी सेना र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) कुर्द विद्रोहीहरूको तुलनामा धेरै शक्तिशाली छन् । तर अमेरिकी तथा इजरायली वायुसेनाले आकाशबाट सहयोग गरेमा कुर्दहरूले इरानी सेनालाई हराउन सक्ने अमेरिका र इजरायलको आँकलन छ ।

यो योजना सफल भएमा इरानमा ठूलो स्तरको आन्तरिक विद्रोह तथा युद्धको स्थिति सिर्जना हुन सक्छ । मध्यपूर्वमा जारी यो द्वन्द्व छैटौँ दिनमा पुगेको छ । खाडी क्षेत्रमा कार्यरत लाखौं नेपाली श्रमिकहरूको सुरक्षा पनि जोखिममा परेको छ । नेपाल सरकारले इजरायल तथा इरानमा रहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन तथा अनावश्यक यात्रा नगर्न यसअघि नै एडभाइजरी जारी गरिसकेको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com