उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिका–१० भिमा खण्डमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
मदन भण्डारी लोकमार्गअन्तर्गत गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्र.०१–०५–००२ प १८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको उत्तरतर्फ रहेको सखुवाको रुखमा ठोक्किएको हो । दुर्घटनामा मोटरसाइकल चालक चौदण्डीगढी नगरपालिका–५ सिवाई बस्ने १८ वर्षीय समिर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनलाई तत्काल उद्धार गरी नगर अस्पताल बेल्टार पुर्याइए पनि अस्पताल पुग्नासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दुर्घटनामा परी मोटरसाइकलमा सवार अन्य दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरूमा चौदण्डीगढी–५ सिवाई बस्ने १८ वर्षीय मौसम चौधरी र सोही ठाउँका २३ वर्षीय अशोक चौधरी रहेका छन् ।
घाइते दुवै जनालाई नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरस्थित सुविधासम्पन्न अस्पतालमा रेफर गरिएको छ । बिहान करिब ११:०० बजे भएको उक्त दुर्घटनाको विषयमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ ।
एउटै मोटरसाइकलमा तीन जना सवार रहेकाले तीव्र गति तथा अनियन्त्रित अवस्थाका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरीले दुर्घटनाको कारण पत्ता लगाउन तथा दोषीमाथि कारबाही अघि बढाउने बताएको छ ।
यो घटनाले सडक सुरक्षालाई फेरि गम्भीर चुनौतीका रूपमा उजागर गरेको छ । निर्वाचनको दिन पनि यात्रुको चाप बढेकाले सडकमा सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया