काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौंमा मतदान गरेर आफ्नो निर्वाचन क्षेत्र सर्लाही पुगेका छन् । सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका थापाले बिहान काठमाडौंको मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा मत खसालेका थिए ।
मतदानपछि उनी तत्काल सर्लाही प्रस्थान गरेका हुन् । सर्लाही पुगेर थापाले मतदान केन्द्रहरूको निरीक्षणमा निस्किसकेको उनको सचिवालयले जनाएको छ । निर्वाचनको दिन मतदान केन्द्रहरूको अवस्था बुझ्न तथा मतदातासँग प्रत्यक्ष भेटघाट गर्न उनले यो कार्यक्रम राखेका थिए ।
सर्लाही–४ मा थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. अमरेशकुमार सिंहबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । क्षेत्रमा कांग्रेसको परम्परागत प्रभाव रहेकाले थापालाई केही फाइदा पुगेको देखिए पनि सिंहको बलियो स्थानीय प्रभाव र रास्वपाको संगठनात्मक बलले चुनाव रोचक बनेको छ ।
थापाले मतदानपछि भनेका थिए, “यो इतिहास रच्ने समय हो । मतदाताले परिवर्तनको पक्षमा मत दिनुपर्छ ।” उनले सर्लाही पुगेर मतदातालाई धन्यवाद ज्ञापन गर्दै निर्वाचनलाई शान्तिपूर्ण बनाउन सबै पक्षलाई अपिल गरेका छन् ।
फागुन २१ गते सम्पन्न यो निर्वाचनमा मतदान सम्पन्न भइसकेको छ । मतगणना जारी छ र प्रारम्भिक परिणामहरू क्रमशः आउन थालेका छन् । सुरक्षा व्यवस्था कडा पारिएको र निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरी तथा निर्वाचन आयोगले जनाएको छ ।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया