काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गरेनन् ।
संविधानका संरक्षक तथा राष्ट्रका अभिभावकको हैसियतमा तटस्थता कायम गर्न राष्ट्रपति पौडेलले मतदानमा सहभागी नहुने निर्णय गरेको राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । यसअघिका निर्वाचनहरूमा उनी आफ्नो गृह जिल्ला तनहुँको व्यास नगरपालिकास्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए ।
यसैगरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि संवैधानिक तटस्थताका कारण मतदान प्रक्रियामा सहभागी नभएको उनका प्रेस सल्लाहकार दिनेश यादवले बताए । उपराष्ट्रपति यादव यसअघिका निर्वाचनमा बाराको बसबरीयास्थित मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको यो निर्णयलाई संवैधानिक पदमा रहेका व्यक्तिहरूले निर्वाचनमा तटस्थ भूमिका निर्वाह गर्ने परम्पराको रूपमा हेरिएको छ । फागुन २१ गते सम्पन्न यो निर्वाचनमा अन्य राजनीतिक दलका शीर्ष नेताहरूले भने मतदान गरेका छन् ।
मतदान सम्पन्न भएपछि मतगणना जारी छ । प्रारम्भिक परिणामहरू क्रमशः आउन थालेका छन् । निर्वाचन शान्तिपूर्ण तथा उत्साहजनक रूपमा सम्पन्न भएको प्रहरी तथा निर्वाचन आयोगले जनाएको छ ।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया