काठमाडौं । जेनजी आन्दोलनकी अगुवा रक्षा बमले वर्तमान राजनीतिक दलहरूको नियतप्रति गम्भीर प्रश्न उठाएकी छन्। गत वर्षको आन्दोलनपछि सरकार र जेनजी युवाबीच भएको सम्झौतामा कुनै पनि दलले आफ्नो चुनावी घोषणापत्रमा समावेश नगरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी छन्।
मतदानअघि बीबीसीसँगको कुराकानीमा रक्षाले भनिन् राजनीतिक दलहरूले जेनजी पुस्तालाई मात्र सत्तामा पुग्ने भर्याङको रूपमा प्रयोग गरिरहेको छ। उनले भनिन्, ‘आन्दोलनको एक हिस्सा भएको नाताले मलाई यो सुरुवात राम्रो लागेको छैन।’
रक्षाका अनुसार दलहरूले युवाहरूको वास्तविक मुद्दा सम्बोधन नगरी जेनजी मुभमेन्टलाई चुनावी बजारमा मात्रै बेच्ने प्रयास गरेको देखिएको छ। उनले थपिन्, ‘हामीले चाहेको बृहत् प्रणालीगत परिवर्तन थियो, तर उनीहरूलाई केवल सरकार परिवर्तनमा मात्रै चासो देखियो।’
उनले निर्वाचनअघि सम्पन्न हुनुपर्ने धेरै महत्वपूर्ण कामहरू अझै अलपत्र रहेको र आन्दोलनका माग तथा सम्झौताहरूलाई कुनै दलले गम्भीरतापूर्वक सम्बोधन नगरेको बताए। रक्षाले युवा पुस्ताको भावनालाई बेवास्ता गर्दा नयाँ पुस्तामा चुनावी प्रक्रियाप्रति वितृष्णा पैदा भएको विश्लेषण गरेकी छन्।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया