दोलखा। दोलखाको कालिञ्चोक गाउँपालिका–८ स्थित कालीनाग मतदान स्थलमा मतदान प्रक्रियाबीच विवाद भएको छ । मतदाता नामावलीमा नाम भए पनि भोटर कार्ड नभएको र सहकारीको परिचयपत्र देखाएर मतदान गर्न खोजेपछि केन्द्रमा तनाव उत्पन्न भएको हो ।
दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार मतदाताले सहकारीको परिचयपत्रलाई प्रमाणका रूपमा प्रस्तुत गरेपछि मतदान अधिकृत तथा सुरक्षा कर्मचारीले अस्वीकार गरेका थिए । यसपछि मतदाता र कर्मचारीबीच केही समय विवाद भएको थियो ।
विवाद समाधानका लागि स्थानीय प्रशासन तथा सुरक्षाकर्मीले हस्तक्षेप गरेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी आलेले भने, “मतदाता नामावलीमा नाम भए पनि निर्वाचन आयोगले तोकेको आधिकारिक प्रमाणपत्र (भोटर आईडी कार्ड वा नागरिकता) बिना मतदान गर्न नमिल्ने नियम छ । सहकारीको परिचयपत्रलाई मान्यता दिइएको छैन । विवाद समाधानपछि मतदान सामान्य रूपमा जारी छ ।”
यो घटनाले मतदान प्रक्रियामा कागजी प्रमाणको महत्वलाई फेरि उजागर गरेको छ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भए पनि आधिकारिक परिचयपत्र अनिवार्य गरेको छ । कुनै पनि गैरआधिकारिक कागजात (जस्तै सहकारीको परिचयपत्र, पार्टीको सदस्यता कार्ड आदि) लाई मतदानका लागि मान्यता दिइँदैन ।
फागुन २१ गते सम्पन्न यो निर्वाचनमा देशभर मतदान जारी छ । दोलखा लगायतका जिल्लामा मतदान शान्तिपूर्ण रूपमा भइरहेको र कुनै ठूलो घटना नभएको प्रहरी तथा निर्वाचन अधिकृतहरूले जनाएका छन् । मतदान दिउँसो ५ बजेसम्म जारी रहनेछ ।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया