काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन देशभर मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । मतदानलाई सफल, शान्तिपूर्ण र निष्पक्ष बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ भने मतदाताहरूले ‘यो चुनावले देशलाई निकास दिनेछ’ भन्ने विश्वास व्यक्त गरेका छन् ।
काठमाडौंको अनामनगर निवासी वासुदेव गिरीले भने, “यो चुनाव सफल हुनुपर्छ र देशले निकास पाउनुपर्छ ।” पञ्चायतकालदेखि निर्वाचनमा सहभागी हुँदै आएका गिरीले सुरुमा निर्वाचन होला वा नहोला भन्ने चिन्ता रहे पनि बिहान ७ बजेदेखि देशभर उत्साहपूर्वक मतदान सुरु भएको सुनेपछि आफू पनि उत्साहित भएको बताए । काठमाडौं निर्वाचन क्षेत्र नं १ को साविक मिलन विद्या मन्दिर मतदान केन्द्रमा श्रीमतीसहित मतदान गरेपछि उनले भने, “मुलुकमा शान्ति, अमनचयन, सुशासन र समृद्धि चाहिएको छ । यसका लागि सबै मतदाताले आफ्नो विवेक प्रयोग गरिरहेका छन् । यसले म पनि उत्साहित छु ।”
नेपाल घरेलु तथा साना उद्योग व्यवसायी महासङ्घका पूर्वअध्यक्ष गिरीले २०४३ सालमा भएको निर्वाचनमा काठमाडौंमा जम्मा दुई निर्वाचन क्षेत्र रहेको बेलादेखि यहाँबाट मतदान गर्दै आएका छन् । त्यसबेला स्वतन्त्र उम्मेदवारहरूको बाहुल्य रहेको र वीरेन्द्र श्रेष्ठ तथा पद्मरत्न तुलाधर विजयी भएको उनको सम्झनामा छ । “त्यसबेला र अहिलेको समयमा धेरै बदलाव आइसकेको छ । अहिले दश निर्वाचन क्षेत्र छन् । जनसङ्ख्या पनि धेरै वृद्धि भएको छ । देश विकासको यात्रा अघि बढे पनि अस्थिरता बढेकामा भने चिन्ता लागिरहेको छ”, उनले भने । यसपटकको निर्वाचनबाट राजनीतिक स्थिरता कायम भई विकासले गति लिने उनको आशा छ । “शान्तिपूर्ण रूपमा निर्वाचन भइरहेको छ । सबै राजनीतिक दल, उम्मेदवार र मतदाताले सौहार्दता अपनाएमा निर्वाचन सफल हुन्छ । अवकाशप्राप्त जीवनमा मेरो त अरू अपेक्षा छैन, देशले निकास पाओस्”, गिरीले भने ।
काठमाडौं निर्वाचन क्षेत्र नं १, अनामनगरस्थित काठमाडौं महानगरपालिका–२९ मतदान केन्द्रका मतदाता तथा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले भने, “मुलुकमा बाध्यात्मक अवस्थामा निर्वाचन भएको छ । स्थिरता, सुशासन र रोजगारीको समस्या जर्जर छ । त्यसैका आधारमा जेनजी विद्रोह पनि भयो, तर निर्वाचनले ती माग र आवाजलाई पूर्ण रूपमा सम्बोधन हुने गरी परिणाम दिन्छ कि दिन्न भन्ने अन्योल छ ।” उनले नयाँ, पुराना दल र उम्मेदवार जे जे भने पनि जितेर आउनेले इमानदार भएर जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।
उक्त मतदान केन्द्रका मतदान अधिकृत रमेश भट्टराईले मतदाताले उत्साहपूर्वक सहभागिता जनाइरहेको बताए । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त, सुत्केरी तथा गर्भवतीलाई लाइन बस्न नपर्ने गरी प्रबन्ध मिलाइएको उनले जानकारी दिए ।
काठमाडौं निर्वाचन क्षेत्र ४ का निर्वाचन अधिकृत कृष्णा भण्डारीले दिउँसो ३ः३० बजेसम्म उत्साहपूर्वक मतदान भएको जानकारी दिइन् । उनले काठमाडौं महानगरपालिकाका वडाभन्दा बुढानीलकण्ठ नगरपालिकाका वडा तथा स्थलमा बढी मतदान भएको बताइन् । निर्वाचन अधिकृत भण्डारीले आफूहरू अधिकांश मतदानस्थलमा स्थलगत अवलोकनमा पनि रहेको र बुढानीलकण्ठको जय भद्रकाली मतदानस्थलमा यतिबेलासम्म करिब ६० प्रतिशत मतदान भएको जानकारी दिइन् ।
निर्वाचन आयोगले मतदान सम्पन्न भई मतपेटिका सङ्कलन भएपछि गणना सुरु गर्ने र गणना सुरु भएको २४ घण्टाभित्र मत परिणाम आइसक्ने गरी तयारी गरेको छ । आयोगले दुर्गम पहाडी जिल्लाका ६१ स्थानबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत र अन्य स्थानको मतपेटिका गाडीबाट सङ्कलन हुने जनाएको छ ।
देशभर मतदान केन्द्रहरूमा मतदाताको सहभागिता उच्च रहेको र निर्वाचन शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ । मतदान दिउँसो ५ बजेसम्म जारी रहनेछ ।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार











प्रतिक्रिया